इलाम-२ मा उपनिर्वाचनको चहलपहल बढ्यो

सफल खबर संवाददाता

शनिबार, २६ फागुन २०८०, १२ : ४३
इलाम-२ मा उपनिर्वाचनको चहलपहल बढ्यो

काठमाडौँ । आउँदो वैशाख १५ गतेलाई प्रतिनिधि सभा र प्रदेश सभाका दुवै पदको उपनिर्वाचन हुने निश्चित भएपनि स्थानीय तहका २६ पदमा उपनिर्वाचन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको निधन भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने जानकारी दिए । 

पछिल्लो पटक सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका-६, कर्णालीको सानीभेरी गाउँपालिका-५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षको निधन भएको छ । आयोगका अनुसार जिल्ला समन्वय समितिको प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त छन् । ति स्थानको उपनिर्वाचनको मिति तोक्न ढिलाइ भएको छ । आयोगले सरकारसँग परामर्श जारी राखेको र केही दिनभित्र मिति तोक्ने जनाएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन हुने इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली काँग्रेस र नेकपा एमालेले इलाम २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरूप आकाङ्क्षीहरूको दौडधुप बढेको छ ।

एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने गरी तयारी थालेको छ । जिल्ला सचिवालयको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरिसकेको छ । 

कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदयमा इच्छा जाहेर गर्नुपर्नेछ । एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तरपार्टी निर्देशन (अपानि)मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ । उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ ।

एमालेबाट बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, डा.देवी क्षेत्री दुलाल, दिवङ्गत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङले आफूलाई बलियो उम्मेदवारका रूपमा उभ्याएका छन् ।नेपाली काँग्रेसबाट जिल्ला सभापति डम्बर खड्का २०७९ मा व्यहोरेको हारलाई जितमा परिणत गर्ने अभियानमा छन् । जिल्लामा काँग्रेसको संगठनभित्र बलियो पकड बनाएका भेषराज आचार्य यस पटक जसरी पनि टिकट लिने र काँग्रेसलाई विजयी गराउने अभियानमा रहेको दाबी गरिरहेका छन् । पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसांसद नगेन्द्र कुमाल पनि काँग्रेसबाट टिकटको दौडमा छन् ।

वैकल्पिक दलका नेताहरू पनि चुनावी अभियानमा जुटिसकेका छन् । पहिचानवादीको तर्फबाट केन्द्रसिंह थेगिम उम्मेदवार बन्ने सम्भावना देखिएको छ । माओवादी केन्द्र परित्याग गरेका पत्रकार मिलन लिम्बु पनि इलाम २ को उम्मेदवार बन्ने दौडमा छन् । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिकरुपमा उम्मेदवार खोजिरहेको छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा) लगायतका दलहरूले पनि आफ्नो उम्मेदवार उठाउने तयारीमा छन् ।

यता, जिल्ला निर्वाचन कार्यालय इलामले उपनिर्वाचनको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन कार्यालयले मतदाता नामावली रुजु गर्ने, निर्वाचनका लागि आवश्यक पर्ने सामग्री व्यवस्थापन गर्ने, मतदानस्थल र मतदान केन्द्रको अवस्था बुझ्नेजस्ता कामहरू यसअघि नै सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले जानकारी दिए ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार उपनिर्वाचनका लागि फागुन २४ देखि ३० गतेसम्म राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ । त्यस्तै चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन मुख्य निर्वाचन अधिकृत नियुक्त गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जनाइएको छ । 

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का विरुद्ध एक सय १४ मतको झिनो अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए ।

उपनिर्वाचनका लागि ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगका अनुसार इलाममा कुल मतदाता दुई लाख २५ हजार ८० रहेका छन् । इलाम २ को मात्र मतदाता एक लाख १५ हजार चार सय ६७ रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस