चार राजनीतिक दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, २१ : ०४
चार राजनीतिक दलबीच ८ बुँदे सहमति,  राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

काठमाडौँ । नयाँ गठबन्धनका चार राजनीतिक दलबीच सत्ता सहकार्यका लागि ८ बुँदे सहमति भएको छ । सोमबार राति भएको सहमति अनुसार रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारलाई समर्थन गर्ने दलहरुबिच सहमति भएको हो ।

राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने सहमतिमा भनिएको छ । सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने उल्लेख छ ।

त्यस्तै सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने पनि सहमित भएको छ । नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस