जहाज खरिदमा अनियमितता छानबीनको तयारी

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०७५, १५ : १३
जहाज खरिदमा अनियमितता छानबीनको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले  खरिद गरेको एअरबस ३३०-२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिद प्रकरणमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारबाट करोडौँ रुपैयाँ घोटाला भएको आशंकामा सरोकारवाला निकायले छानबिनको तयारी गरेको छ । 
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति बनाइसकेको छ । एयरबस खरिदमा कमिशन र उत्पादक कम्पनीले दिएको छुटमा ब्रम्हलुट मच्चाएको आरोप लागेपछि महाप्रबन्धक कंसाकार विवादमा तानिएका छन् । ‘वाइड बडी’ खरिदमा कंसाकारले अर्बौ रुपैयाँ हिनामिना गरेको समाचारहरू आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् ।
पछिल्लो पटक मिडिया सञ्चालक समेत रहेका हवाई व्यापारीको योजनामा निगम डुबाउने खेल भइरहेको स्रोतले जनाएको छ । थोत्रा जहाज उडाएर नेपाली जनताको जीवन हत्केलामा राखेका अर्का हवाई माफियाको योजनामा धन्दा चलाइएको छ । ओलीले कंशकारलाई बोलाएर वाइड बडी खरिदका विषयमा सोधपुछ गरिसकेको र कारबाही गर्ने तयारी गरेको बुझिएको छ । कंसाकारले प्रधानमन्त्री ओलीसँगको भेटमा आफूले भ्रष्टाचार नगरेको स्पष्टीकरण दिएका छन् । ओलीलाई कंसाकारको जवाफमा चिक्त नबुझाएको स्रोतले जनाएको छ । 
हवाई माफियाकै योजनामा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले महाप्रबन्धक कंसाकारलाई केही दिन पहिले आफ्नै कार्यकक्षमा बोलाएर ‘प्रधानमन्त्रीले तपाईलाई पदबाट हटाउँदै हुनुहुन्छ’ भनेर अग्रीम जानकारी गराएका थिए । कंसाकारले सचिव देवकोटासामु आफूले केही पनि गलत काम नगरेको दाबी गर्दै ‘कसरी हटाउँदा रहेछन्, म पनि हेर्छु’ भन्ने जवाफ सचिवलाई दिएको स्रोत बताउँछ । 
यस विषयमा पर्यटन मन्त्रालयका सचिव देवकोटा र निगमका महाप्रबन्धक कंसाकारसँग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
 

प्रतिक्रिया दिनुहोस