साउदी अरब र ईरानमा को शक्तिशाली ?

एजेन्सी

मंगलबार, ११ पुस २०७४, १४ : ४२
साउदी अरब र ईरानमा को शक्तिशाली ?

चितवन । मध्यपूर्वमा एकतर्फ इजरायल र मुस्लिम देशहरुबीच टकराव छ भने अर्कोतर्फ शिया बहुल ईरान र सुन्नी बहुल साउदी अरबको पनि दुश्मनी रहेको छ । यही दुश्मनीको आधारमा इजरायल र साउदी अरबबीच दोस्ती बढिरहेको पनि बताइँदैछ ।

पछिल्लो समय ईरान र साउदीबीच टकराव झन् बढिरहेको छ । यमन यी दुई देशका लागि युद्धको मैदान बनिरहेको छ । यमनमा साउदीको नेतृत्वको सेना रहेको छ । र, अर्कोतर्फ हूथी विद्रोही छन् । ईरानमाथि आरोप छ कि यमनको हूथी विद्रोहीलाई उसले सघाइरहेको छ ।

के यमनबाट अघि बढेर दुवै देश वास्तवमै आमनेसामने होलान् ? यदी यस्तो भयो भने जीत कसको होला ?

आजको दिनमा जीत सैन्य शक्तिमाथि मात्र निर्भर गर्देन । कुन देशको पक्षमा कुन शक्तिशाली देश रहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । ईरान र साउदीको मामिलामा पनि विश्वका शक्तिशाली देश विभाजित छन् । अमेरिका साउदीको पक्षमा रहेको छ भने रुस ईरानको पक्षमा देखिएको छ ।

सिरियामा अमेरिकाले नेतृत्व गरेको पक्षको पराजय र रुसी पक्षका राष्ट्रपति बशर अल–असदको सेनाको जीतपछि मध्यपूर्वमा शक्ति सन्तुलन बलिएको छ । अमेरिका र साउदी बशर अल–असदलाई हराउन चाहन्थे तर, उनीहरुमाथि रुस र ईरानभारि पढे ।

युद्ध उन्मुख साउदी अरब र ईरान : के होला परिणाम ?
यस्तोमा प्रश्न उठ्छ, युद्धको मैदानमा साउदीमाथि ईरान भारी पर्नेछ या ईरानमाथि साउदी ? यसमा दुई देशको सैन्य सामथ्र्यलाई बुझ्नुपर्ने हुन्छ ।

के भन्छ तथ्य ?
- ईरानसँग ५ लाख ६३ हजार सशस्त्र बल छ भने साउदीसँग २ लाख ५१ हजार ५०० सेना रहेको छ ।ईरानसँग एक        हजार ५१३ युद्धक ट्याङ्क रहेको छ जबकी साउदीसँग ९ सयवटा रहेको छ ।
- ईरानसँग ६ हजार ७९८ तोपखाना रहेको छ भने साउदीसँग ७ सय ६१ वटा मात्र रहेको छ ।

- ईरानसँग ३३६ लडाकू विमान रहेका छन् । तर, यी पूराना रहेका छन् । साउदीसँग ३३८ आधुनिक लडाकू विमान रहेका छन् ।
- ईरानसँग १९४ गस्ती जहाज रहेका छन् र साउदीसँग ११ मात्र रहेका छन् ।
- ईरानसँग २१ युद्धपोत रहेका छन् साउदीसँग ७ वटा रहेका छन् ।

के ईरान र साउदीबीच युद्ध हुन सक्छ ?
अहिलसम्म तेहरान र रियादबीच ‘प्रोक्सी वार’ हुँदै आइरहेको छ । दुई देश कहिले पनि सीधा युद्धका लागि तयार भएनन् । साउदी अरबको राजधानीमाथि लक्षित गरी यमनबाट रकेट प्रहार भएपछि अहिले समीकरण बदलिएको छ ।

खाडीको पानीमा दुई देशमा सीधा संघर्ष हुन सक्छ । तर, यहाँ पनि खतरा हुनसक्छ किनभने अमेरिका र अन्य पश्चिमा शक्तिका लागि, खाडीमा नेभिगेशनको स्वतन्त्रता आवश्यक छ ।

लामो समयदेखि अमेरिका र उनका सहयोगीले ईरानलाई मध्य पूर्वमा अस्थिरता फैलाउने देशको रुपमा हेर्दै आइरहेको छ । साउदी अरब पनि ईरानलाई एक खतराको रुपमा हेर्दै आइरहेको छ । र, राजकुमार आवश्यक पर्ने हरेक कारवाही गर्न चाहन्छन् ।

को–को छन् क्षेत्रीय समर्थक ?
साउदी अरबको क्याम्पमा सुन्नी देशहरु रहेका छन् जसमा युएई, कुवेत र बहराइनसँगै इजिप्ट र जोर्डन पनि छन् । उता, ईरानको समर्थनमा सिरिया सरकार रहेको छ जसलाई ईरानको अलावा शिया लडाकु गुटको पनि समर्थन रहेको छ । यसमा हिज्बुल्ला पनि शामिल छन् जो सुन्नी विद्रोहीहरुसँग लड्दै आइरहेका छन् ।

शिया बहुल इराक सरकार पनि ईरानको साथमा छ । तर, उसको अमेरिकासँग पनि विशेष सम्बन्ध रहेको छ । जसको मद्दतले उसले आइएससँग लडिरहेको छ ।

मध्यपूर्वमा हार्दै साउदी
कयौँ मोर्चामा ईरानले यो क्षेत्रीय लडाईं जित्दैछ । सिरियामा ईरान र रुसले राष्ट्रपति बशर–अल–असदलाई समर्थन गर्यो जसबाट साउदी समर्थित विद्रोही गुटलाई हटाइयो ।

साउदी अरब आफ्नो देशमा ईरानको प्रभाव कम गर्न हरसम्भव कोशिष गरिरहेको छ । ईरानको प्रभाव घटाउनकै लागि साउदीका राजकुमारले यमनसँग युद्ध शुरु गरेका छन् । तर, पछिल्ला तीन वर्षमा यो निर्णय महंगो परेको देखिँदैछ ।

उता, लेबनानमा धेरै जना यो मान्छन् कि त्यहाँका प्रधानमन्त्रीलाई साउदी अरबले नै दबाबमा राजीनामा गर्न लगाएका हुन् । लेबनानमा शिया हिज्बुल्लाले ठूलो राजनीतिक ब्लकको अगुवाई गर्दछ । र, त्यहाँ उनीहरु हतियारबाट सुसज्जित रहेका छन् । त्यहाँ साउदीले अस्थितरा फैलाउन खोजेको उनीहरुको आरोप छ ।

यसमा वाह्य शक्तिको पनि योगदान रहेको छ । साउदी अरबलाई डोनाल्ड ट्रम्पको समर्थन छ । ईरानलाई खतरा मान्ने इजरायलले पनि साउदीलाई सहयोग गरिरहेको छ ।

इजरायललाई सिरियाको सीमामा कब्जा जमाएर बसेका ईरान समर्थित लडाकुहरुसँग डर छ । इजरायल र साउदी अरब दुवै देशले ईरानको परमाणु कार्यक्रम सिमित गर्न गरिएको सन् २०१५ को अन्तर्राष्ट्रिय सम्झौताको विरोध गरेका थिए । परमाणु हतियार हासिल गर्नबाट ईरानलाई रोक्न यो कदम पर्याप्त नभएको उनीहरुको ठहर थियो ।

यता, अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा घोषणा गरेपछि अमेरिकालाई लिएर मध्यपूर्वका मुस्लिम देशमा आशंका पनि बढेको छ । डोनाल्ड ट्रम्प आएपछि अब मध्यपूर्वमा शक्तिको एउटा केन्द्र भन्ने कुरा रहेन ।(एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस