महाशिवरात्रिमा २० लाख जना पशुपति आउने अनुमान

सफल खबर संवाददाता

आइतबार, २० फागुन २०८०, १९ : ४३
महाशिवरात्रिमा २० लाख जना पशुपति आउने अनुमान

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ । पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 

कोषका अनुसार पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरीको मूल शिविर रहनेछ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपति क्षेत्र नासल चोकमा रहनेछ ।मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सब कमण्ड पोष्ट खडा गरी समग्र पशुपति क्षेत्रको महाशिवरात्रि पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइनेछ ।

यसैगरी खोजखबर कक्षको व्यवस्थापनसहित मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसी क्यामेराको जडान गर्ने, दर्शनमार्गमा ‘ब्यारिकेड’ जडानलगायत कार्यमा र मन्दिरभित्र भीड व्यवस्थापनका लागि नेपाली सेनाको विशेष सहयोग हुने कोषको भनाइ छ । 

पशुपतिनाथ मन्दिर नजिकै मुख्य (कोर) क्षेत्रमा डाक्टर, नर्स, औषधि र शय्यासहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहनेछ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतका गरी करिव ५० स्वास्थ्य शिविर रहने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन पनि उपलब्ध हुने जनाइएको छ ।

यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङकराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक बागमती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ ।

यस्तै चन्दन वितरण दर्शन गरेर निस्किने मुख्य क्षेत्रभित्र, जयवागेश्वरी, ब्रजघर अगाडि दक्षिण ढोका र तिलगङ्गामा समेत रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस