शिखर सम्मेलनले लुम्बिनीको 'ब्राण्डिङ' गर्नेछ : मुख्यमन्त्री चौधरी

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, १२ : १५
शिखर सम्मेलनले लुम्बिनीको 'ब्राण्डिङ' गर्नेछ : मुख्यमन्त्री चौधरी

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी शिखर सम्मेलन  मूल उद्देश्य लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने  रहेको बताएका  छन्।

लुम्बिनीमा यही फागुन २८ गतेदेखि हुने शिखर सम्मेलनबारे  आज  बिहान बुटवलमा आयोजित  पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले लुम्बिनीको प्रचारप्रसार बाहेक अन्य कुनै पनि गलत उद्देश्य नरहेको प्रस्टाएका छन् ।

लुम्बिनी प्रदेश सरकारको आयोजनामा यही फागुन २८ र २९ गते बुद्ध भूमिमा लुम्बिनीमा सम्मेलन हुन लागेको हो । मुख्यमन्त्री चौधरीले सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार प्रसारमा ठुलो टेवा पुर्‍याउने बताए ।

सम्मेलनबाट लुम्बिनीको गरिमा थप बढ्ने विश्वास लिएको  बताए । सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउने छन् । सम्मेलनमा ३०० जना विज्ञहरू सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको छ ।

सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान सहभागी हुने छन् । त्यस्तैगरी सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउनेछन् ।

त्यस्तैगरी शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको छ ।

नोबेल पुरस्कार विजेताहरूलाई पाल्पा, अर्घाखाँचीको सुपादेउराली, प्युठानको स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जसमेत लैजाने तयारी छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । १० वटा कार्यपत्र समेत प्रस्तुत हुने सम्मेलन मायादेवी मन्दिर परिसरबाट घोषणापत्र जारी गर्दै सकिने छ ।

सम्मेलनका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट छुट्टाइए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपैयाँभन्दा बढी खर्च नहुने चौधरीको भनाई छ। सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्द्धनको वातावरण बनाउने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस