गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, ०९ : १३
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

चितवन । धुर्मुस सुन्तली फाउन्डेसनले हात उठाएपछि अलपत्र रहँदै आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरिउको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो । 

आज एक सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । भरतपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औँ दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरुको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ ।

रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने महानगरपालिकाका वरिष्ठ इन्जिनियर आचार्यले जानकारी दिए । रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।

महानगरपालिकाले विगत ५ वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया थालेको हो ।

यसअघि, बागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्ष २०२४ को एउटा आकर्षक गन्तव्य रंगशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटन अगावै टेण्डर आह्वान गरिएको जानकारी दिइन् । लामो समयको अथक मिहिनेत, प्रयास र तत्परताले रंगशाला निर्माण कार्य सुनिश्चित भएकाले नेपाली खेलकुद जगतका लागि उत्साह थपिएको उनले उल्लेख गरिन् ।

उनले सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी थालिने पनि बताइन् । कात्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मोरङको विराटनगर, र काठमाडौँको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

रंगशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रंगशाला बनाइसक्नु पर्नेछ । रंगशालाको सबै काम पुरा गर्न साढे ३ अर्ब रुपैयाँ लाग्छ । पहिलो चरणको काम पुरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस