संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसक्यो, संसद्‍मा दर्ता गर्ने तयारी छ : प्रधानमन्त्री

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १४ : ४९
संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसक्यो, संसद्‍मा दर्ता गर्ने तयारी छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसकेको जानकारी दिएका छन् । उनले उक्त ऐनलाई संसद्‍मा ल्याउने तयारी भइरहेको पनि जानकारी दिएका हुन् ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा संघीय निजामती ऐन मन्त्रिपरिषद्‍बाट पारित भइसकेको जानकारी दिएका हुन् । ‘पछिल्लो मन्त्रिपरिषद् बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याएर संसद्माा दर्ता गर्ने तयारी भइरहेको छ, ’उनले भने ।

संघ, प्रदेश र स्थानीय तहमा प्रशासनिक संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन सरकारले अगाडि बढाउन लागेको हो । प्रधानमन्त्री दाहालले संघ, प्रदेश र स्थानीय तहबीच पछिल्लो समयमा निरन्तर सहकार्य भइरहेको बताएका छन् । उनले तीन तहबीच कार्यक्षेत्र र साझा अधिकारका विषयमा छलफलबाटै अगाडि बढिरहेको बताए । तीन तहबीच अधिकारसूचीको कार्यविस्तृतिकरण गर्न लागिएको दाहालले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस