भरतपुर महानगरले बनाउने भयो गेष्ट हाउस चौरमा सिटी हल

बुधबार, २७ भदौ २०७५, १८ : २०
भरतपुर महानगरले बनाउने भयो गेष्ट हाउस चौरमा सिटी हल

चितवन । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा सिटी हल बनाउने भएको छ । 
भरतपुर महानगरपालिकाको आग्रहमा सबै राजीतिक दलहरुबीच गेष्ट हाउस चौरमा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी बनाउने सहमति भएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अत्याधुनिक खालको अन्तर्राष्ट्रिय स्तरको सिटी हल गेष्ट हाउस चौरमा बनाउने सहमति भएको छ । भरतपुर महानगरपालिका ,नेकपा, नेपाली कांग्रेस, जिल्ला समन्वय समितिको आज भएको छलफलले महानगरको सिटी हल गेष्ट हाउस चौरमै बनाउने सहमति भएको हो । यसअघि क्यान्सर अस्पतालमा सिटी हल बनाउने निर्णय महानगरपालिकाले विभिन्न राजनीतिक दलहरुको विरोधका कारण स्थगित गरेको थियो । 
‘पाँचहजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सिटी हल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउँछ’ महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, ‘सिटी हलको लागि ५० करोडको बजेट निकासा भइसकेको छ ।’ 
महानगरले बनाउन लागेको सिटी हल देशकै नमुना बन्ने महानगर प्रमुख दाहालको भनाइ थियो । झन्डै ५ बिघामा सिटी हल बन्ने भएको छ । भरतपुर १० मा रहेको गेष्ट हाउस चौरमा सिटी हल बनाउन राजनीतिक दलहरुले समर्थन जनाएका छन् । भरतपुर महानगरको सिटी हल बन्ने विषयमा यसअघि भएको विवाद अब सुल्झेको छ । अन्ततः भरतपुर महानगरले गेष्ठ हाउस चौरमा भव्य सिटी हल बनाउने प्रक्रिया अघि बढाउने भएको छ । ​
 

गेष्ट हाउस चौरको जग्गा जिल्ला समन्वय समितिको मातहतमा रहेको छ । ‘गेष्ट हाउस चौर जिल्ला समन्वय समितिको मातहतमा छ, हामी सिटी हल बनाउन उपलव्ध गराउँछौँ’ जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भन्नुभयो । उहाँका अनुसार सिटी हलको लागि जग्गा अपुग हुँदैन । उहाँले भन्नुभयो, ‘साढे ४ विघा जग्गा छ, अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउन पुग्छ ।’ 

प्रतिक्रिया दिनुहोस