खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार सुरु

सफल खबर संवाददाता

मंगलबार, १५ फागुन २०८०, ०८ : २३
खोरबाट उद्धार गरिएकी फुरदिकुको उपचार सुरु

खोटाङ। खोरमा थुनिएको अवस्थाबाट उद्धार गरिएकी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचार सुरु भएको छ ।

मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ देखि खोरमा थुनिएकी फुरदिकुलाई सोमबार उद्धार गरेर अस्पताल लगिएको हो ।

उपचार अभावमा खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्नेगरी अस्पताल भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् । 'राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा. अनन्त अधिकारीसँग कुराकानी गरेर उपचार सुरु गरिएको छ । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको छ', उनले भने, 'उपचारमा संलग्न डाक्टरले फुरदिकुको समस्या चाँडै ठिक हुन्छ भनेका छन् । बिरामीलाई बस्ने, खाना, खाजा र औषधि निःशुल्क हुन्छ । फुरदिकुको कुरुवाका रूपमा बस्ने एक जना अभिभावकलाई खाने र बस्ने व्यवस्था नगरपालिकाले गर्छ ।'

मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गालीबेइज्जत बोल्ने, बेठेगान तरिकाले हिँड्नेलगायतका अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेको थियो । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो ।

आर्थिक अभावमा खोरमा थुनिएकी फुरदिकुलाई नगरपालिकाले सोमबार अपराह्न अस्पताल पुर्‍याएको थियो । २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखा पर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसबेला औषधि सेवन गराएपछि स्वास्थ्यमा सुधार भएको जनाइएको छ ।

कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको थियो । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भएको फुरदिकुलाई पुनः गत माघ ३ देखि अस्वस्थ बनेको आमा निम्ले शेर्पाले बताएकी छन् । पछिल्लो समय फुरदिकुले अचानक अनियन्त्रित व्यवहार दखाउन थालेपछि खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको थियो । फुरदिकु नुनथलाकै जालपा माध्यमिक विद्यालबाट २०६७ मा एसएलसी उत्तीर्ण गरेकी हुन् ।

एक छोराकी आमा फुरदिकुले २०७२ मा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग विवाह गरेकी थिइन् । प्रेम विवाह गरेकी फुरदिकुको श्रीमान् दाजाङको मुटुको समस्याका कारण २०७६ मा मृत्यु भयो । २५ वर्षकै उमेरमा विधवा बनेकी फुरदिकु तीन वर्षअघि छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइतीघर नुनथला फर्किएकी थिइन् । श्रीमान् दाजाङको मृत्यु भएको वर्ष दिनपछि फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरिएको बुवा पेमाछेतर शेर्पाले बताए ।

आमासँगै मावलीघर नुनथला बस्दै आएका छ वर्षीय पसनुरी कक्षा ३ मा पढ्दै आएका छन् । तीन वर्षकै उमेरमा बुवा गुमाएका पसनुरीको आमासमेत मानसिक रोगी भएपछि उनको भविष्य अन्योलमा परेको छ । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिनुभएकी फुरदिकुको लागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्न थालेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि हालसम्म ३२ दाताबाट ५१ हजार तीन सय १२ सहयोग सङ्कलन भइसकेको पत्रकार चिसाङ शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस