निर्मला हत्या प्रकरण : झुटो अनुसन्धान गर्ने प्रहरीमाथि अब के होला ?

सफल खबर संवाददाता

बुधबार, २७ भदौ २०७५, १४ : २८
निर्मला हत्या प्रकरण : झुटो अनुसन्धान गर्ने प्रहरीमाथि अब के होला ?


कञ्चनपुर । निर्मला हत्या प्रकरणमा मुख्य अभियुक्त भन्दै सार्वजनिक गरिएको दिलिपसिंह विष्ट निर्दोष सावित भएका छन् । 
निर्मलाको शरीरमा भेटिएको प्रमाणको डिएनए रिपोर्ट दिलिपसँग नमिलेपछि उनी साधारण तारेखमा रिहा भएका छन् । यसअघि मुख्य अभियुक्त भन्दै परिवारलाई किटानी जाहेरी दिन लगाउने कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परेका छन् । 
कञ्चनपुरका तत्कालीन एसपी विष्टले निर्दोष दिलिपलाई फसाउनकै लागि मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेका रहेछन् भन्ने कुरा पछिल्लो पटक उनी निर्दोष सावित भएको कुराले पुष्टि गरेको छ । झुटो अनुसन्धान गर्नेलाई निलम्बनको सजायँले मात्र पुग्छ ? झुटो अनुसन्धान गर्न सघाउने अन्य प्रहरीमाथि कारबाही हुनुपर्दैन ? हत्या भएको दुई महिना हुन लाग्दा पनि दोषी पत्ता नलाग्ने कस्तो अनुसन्धान ?
यो घटनाले नेपाल प्रहरीको अनुसन्धानमाथि नै गम्भीर प्रश्न सोझिएको छ । निर्मला पन्त हत्याकाण्डमा ‘झुटो’ अनुसन्धान गर्दै नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारीमाथि कारवाही थप के कारबाही होला ! प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनामा प्रहरीको भूमिका शंकास्पद र अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकालिसकेको छ ।  
प्रहरी स्रोतका अनुसार अनुसन्धानमा दिलिप विष्टलाई नै मुख्य अभियुक्त बनाएर प्रस्तुत गर्ने कार्यमा सिआइबीका डिएसपी अंगुर जिसीको पनि संलग्नता पाइएपछि उनलाई पनि निलम्बन गर्ने वा अन्य कारवाही गर्नेबारे छलफल भइरहेको छ ।
कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकेन्द्र खड्कालगायत अन्य केही जुनियर अधिकृतको पनि कमजोरी रहेको प्रहरीले औंल्याएको छ ।
यसअघि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पनि निर्मला हत्याकाण्डमा प्रहरीको भूमिका गैरजिम्मेवार देखिएको निष्कर्ष निकालिसकेको छ । छानबिनका क्रममा दोषी देखिए प्रहरी अधिकारीमाथि विभागीयदेखि अन्य कानुनी कारवाही पनि हुनसक्ने प्रहरी स्रोत बताउँ । 
दिलिप रिहा भएसँगै निर्मलाको हत्यारा को हो भन्ने प्रश्न जन्मिएको छ । प्रहरीकै अनुसन्धान झुटो सावित भएपछि प्रहरीमाथि थप चुनौती बढेको छ । गत साउन १० गते घरबाट साथीको घर गएकी निर्मला ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् । निर्मलाका आमाबुबा न्याय खोज्दै काठमाडौंमा छन् । 

प्रतिक्रिया दिनुहोस