आगामी वर्ष ऋण भुक्तानी गर्न एक खर्ब चाहिन्छ : अर्थमन्त्री महत

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १३ : ४५
आगामी वर्ष ऋण भुक्तानी गर्न एक खर्ब चाहिन्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष सार्वजनिक ऋण भुक्तानीको लागि एक खर्ब रकम चाहिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै मन्त्री महतले वर्षेनी सार्वजनिक ऋणको दायित्व बढ्दै गएकोले चुनौती थपिएको बताए ।

यद्यपी पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएको विषय पनि उनले संसदमा उठाए । अर्थमन्त्री महतले भने, ‘पूँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्न गरिएको पहल, मौद्रिक र वित्तीय नीतिबीचको तादम्यता मिलाउन गरिएको पहलले अर्थतन्त्र सहज भएको छ ।’

ब्याजदर एकल विन्दुमा झर्ने क्रम रहेको, घरजग्गा कारोबार र पूँजीबजार सुधारोन्मुख भएको, विदेशी विनिमय पर्याप्तता, राजस्व बृद्धिदर १० प्रतिशत जस्ता कारणले देशको अर्थतन्त्र सुध्रिदै गएको उनले भने । तर, मुलुकको अर्थतन्त्र लयमा फर्कन थालेपनि बाह्य र आन्तरिक कारणले चुनौती मुक्त भने नभएको अर्थमन्त्रीले बताए ।

प्रविधिमा आएको परिवर्तनले राजस्व संकलनमा चुनौती थपिएको छ । विगतमा लिएको सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न आगामी आर्थिक १ खर्ब भन्दा बढी रकम सार्वजनिक ऋणमा भुक्तानी गर्नुपर्ने छ, मन्त्री महतले भने । गत वर्ष ठेक्काको दायित्व भुक्तानी गर्न पनि उत्तिकै चुनौती देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस