अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, २० : १८
अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले, अग्रज नेताहरूलाई एक आपसमा मिलेर देशमा सुशासन कायम गर्न आग्रह गरेका छन् । 

शनिबार काठमाडौँमा आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले अग्रज नेताहरू मिलेर नै राजा फाल्नेदेखि निरङ्कुशताको अन्त्य गरेको भन्दै फेरी एक आपसमा मिलेर देशमा सुशासन कायम गर्न आग्रह गरेका हुन् । देशमा सुशासन कायम गर्न अग्रजहरूले अग्रसर भए हनुमान जस्तै पहाड बोक्न तयार रहेको उनको भनाइ थियो । 

उनले भने,‘ अग्रज नेताहरू, तपाईहरूले मिलेरै राजा फालेको हो । निरङ्कुशताको अन्त्य गरेको हो । तपाईहरू मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस् । तपाईहरूलाई कति हामीले बोक्नुपर्ने हो, हनुमानले पहाड बोके जस्तो हामी बोक्न तयार नै छौँ । तर अब पनि ढिला भयो भने चाहिँ समयले कसैलाई पर्खिने छैन् ।’ 

मन्त्री किरातीले नेपाली समाज भित्रै रहेको समाजवादको विकास नभएको उल्लेख गर्दै नेपाली सापेक्षताको सिद्धान्त नेपाली माटोमाथि विकास गर्न नसकेको अनुभूति भएको बताए । उनले समाजमा इतिहासदेखि नै सत्ताधारी र जनताको गरि दुई किसिमको लेखक रहेको भन्दै रहेको भन्दै डा. राईलाई लेखहरु सधैँ जनताको पक्षमा लेख्न आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस