गण्डकीका सभामुखसहितको टोली जनकपुरधाममा

अनुभव आदानप्रदान

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, ०९ : ०६
गण्डकीका सभामुखसहितको टोली जनकपुरधाममा

जनकपुरधाम । प्रदेशसभामा हुने संसदीय अभ्यास, व्यवस्थापन र अनुभव आदानप्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल नेतृत्वको टोली जनकपुरधामको भ्रमणमा आएको छ । आ–आफ्नो प्रदेशले गरिरहेका संसदीय असल अभ्यास र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सभामुख धिताल नेतृत्वको १६ सदस्यीय टोली शुक्रबार जनकपुरधामको भ्रमणमा आएको हो । 

मधेस प्रदेशसभा सचिवालयका सचिव मनोजकुमार गिरीका अनुसार उक्त टोलीलाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिताकुमारी राउत ईशरलगायतले स्वागत गरेका थिए । टोलीमा गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापासमेत रहेका छन्। उनीहरूबीच आ–आफ्नो प्रदेशले गरिरहेका अभ्यासबारे जानकारी आदनप्रदान भएको थियो । 

त्यसअवसरमा मधेस प्रदेशका सभामुख मण्डलले प्रदेशसभाको संसदीय अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सातै प्रदेशसभाबिच समन्वय तथा  सहकार्य जरुरी रहेको धारणा राखे । उनले प्रदेशसभा तथा सङ्घीय संसदले संविधानले परिकल्पना गरेअनुरूप सहकारिता, समन्वय र सहअस्थित्वको भावनासहित एकअर्कालाई सहगोग गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । 

“लामो आन्दोलन र सङ्घर्षको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हरेक क्षेत्र र व्यक्तिलाई आफ्नो अस्तित्व तथा पहिचानका लागि छुट्टाछुट्टै रुपमा सोच्नुपर्ने अवस्था बनाए पनि एकअर्काको मर्म बुझ्न नसकेमा समस्या उत्पन्न हुन्छ । त्यसैकारण जनताको सुख र समृद्धिको लक्ष्यप्राप्त गर्न सबै प्रदेश र सबै तहका सरकार मिलेर जानुको विकप छैन । यस्ता भ्रमणले सो भावनामा बल पुर्याउने काम गर्छन्”, सभामुख मण्डलले भने ।

त्यस्तै, गण्डकी प्रदेशका सभामुख धितालले नेपालका लागि प्रदेशसभा र प्रदेशगत संसदीय अभ्यास नयाँ भएकाले आ–आफ्ना प्रदेशमा हुने असल अभ्यासबारे सिक्ने र सिकाउने उद्देश्यसहित आफूले अन्तरप्रदेशसभा संसदीय भ्रमणलाई अभियानका रूपमा लिएको बताए । प्रदेशसभालाई व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन अन्तरप्रदेश अनुभवले महत्वपूर्ण सिकाइको काम गर्ने उनको भनाइ थियो । 

सभामुख धितालले भने, “प्रदेशसभामा संसदीय अभ्यास हाम्रा लागि नयाँ विषय हो । त्यसैगरी दलगत कारणले प्रदेशसभामा केन्द्रको छाया पर्ने गरेको छ । त्यसलाई हटाउन पनि हाम्रा अभ्यासलाई अझै प्रभावकारी बनाउनुपर्नेछ ।” उनले मधेस प्रदेशका सभामुखलगायतको टोलीलाई गण्डकी प्रदेशसभा भ्रमणका लागि निम्तासमेत दिए। 

त्यस्तै, मधेस प्रदेशका उपसभामुख इशर र गण्डकी प्रदेशका उपसभामुख थापाले एकअर्को प्रदेशका संसदीय सभ्यासबाट सिक्नका लागि अन्तरप्रदेश भ्रमणको आवश्यकता औँल्याए । सो अवसरमा गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल, कम्प्युटर अधिकृत चन्द्रकला बस्नेत र मधेस प्रदेशसभा सचिवालयका तर्फबाट प्रवक्ता एवं उपसचिव (कानुन)अरुणकुमार झाले आ–आफ्नो प्रदेशका गतिविधिबारे जानकारी गराए।  

प्रतिक्रिया दिनुहोस