वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि सुरु हुँदै

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, ०८ : ११
वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि सुरु हुँदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार वीरगन्ज महानगरपालिाकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो।

महानगरको सभाकक्षमा महानगरका ३२ वटै वडाका वडाध्यक्षहरुसंगको अभिमूखीकरण कार्यक्रममा महानगरका स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए। यादवका अनुसार, महानगरमा फागुन १३ गतेदेखि सुरु हुने उक्त अभियानअन्तर्गत पहिलोदिन वीरगन्ज महानगरपालिका वडा नम्बर ३ वीर्तास्थित त्रिजुद्ध माविको परिसरमा ९ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाएर अभियानको सुभारम्भ गरिनेछ।

त्यसपछि दोश्रो चरणमा फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका बाँकी ३१ वटा वडामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने यादवले जानकारी गराए।

यो अभियानमा महानगरका ७४ हजार चार सय जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको महाशाखाका सह–संयोजक अनिशकान्त कुशवाहाले जानकारी गराए। उनका अनुसार, दादुरा–रुबेला खोप अभियानअन्तर्गत महानगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी दुई सय ९८ खोप केन्द्र स्थापना गरिनेछ। एउटा खोप केन्द्रमा न्युनतम दुई सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी पनि उनले गराए।

अभियानका क्रममा दादुरा–रुबेलाको खोप लगाउने क्रममा हुनसक्ने सम्भावित अवाञ्छित घटना व्यवस्थापनका लागि नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंह, डाक्टर शैलेश ठाकुर लगायत तीन जना चिकित्सकलाई जिम्मेवारी पनि दिइएको उनले बताए।

शुक्रबार वडाध्यक्षहरूसँगको अभिमूखीकरण कार्यक्रममा कुशवाहाले यो अभियानलाई सफल पार्न वडाध्यक्षहरुको भूमीका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे। कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत फागुन १३ गते वीरगन्जमहानगरसंगै पर्सा जिल्लाभरनै दादुरा–रुबेला खोप अभियान सुरु हुने जानकारी गराए।

पहिलोचरणमा फागुन १३ देखि फागुन २१ गतेसम्म वीरगन्ज महानगरको वडा नम्बर ३ तथा जिल्लाको पोखररिया नगरपालिका, पर्सागढी नगरपालिका, जीराभवानी, सखुवाप्रसौनी, जगरनाथपुर र पटेर्वासुगौली गाँउपालिकामा यो खोप अभियान सञ्चालन गरिने उनले बताए।

दोश्रो चरणमा भने फागुन २७ गतेदेखि चैत ५ गतेसम्म वीरगन्ज महानगरका बाँकी ३१ वटा वडा, बहुदरमाई नगरपालिका, पकाहामैनपुर, ठोरी, छिपहरमाई, विन्दवासिनी, धोबिनी र कालिकामाई गाँउपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने जानकारी ठाकुरले गराए।