जाजरकोट भूकम्प : रुकुम पश्चिममा २८ हजार अस्थायी आवस निर्माण

सफल खबर संवाददाता

शनिबार, १२ फागुन २०८०, ०७ : ५६
जाजरकोट भूकम्प : रुकुम पश्चिममा २८ हजार अस्थायी आवस निर्माण

File pic

त्रिवेणी । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । 

सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । जिल्लाभर सात हजार तीन हजार नौ सय १२ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार नौ सय ६२ मध्ये अझै तीन हजार नौ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको सहायक प्रजिअ बढुवालले बताए । 

हालसम्मम सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार नौ सय ३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय आठ अस्थायी आवास निर्माण गरिएको छ । चौरजहारी नगरपालिकामा छ हजार एक सय ९४, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणी गाउँपालिकामा तीन हजार चार सय ९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण गरिएको सहायक प्रजिअ बढुवालले जानकारी दिए । 

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय विपद न्युनिकरण कोषमा रु २५ हजारका दरले रु ७९ करोड ९० लाख पठाएको छ । स्थानीय विपद् कोषबाट भने ३०  हजार दुई सय ३१ लाभग्राहीले रु २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् । अव जिल्लामा पहिचान भएका एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस