नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, २० : ३१
नेदरल्यान्ड्स नामिबियासँग २४ रनले पराजित

काठमाडौँ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियाले नेदरल्यान्डलाई २४ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड ४३ ओभर ५ बलमा १७९ रनमा समेटिएको हो । त्रिवि मैदानमा यसअघि लिग २ का सबै खेलमा दोस्रो इनिङमा ब्याटिङ गर्ने टीमले जितिरहेका थिए । 

यस्तो ट्रेन्ड तोड्दै आज नेदरल्यान्ड्सले दोस्रो इनिङमा ब्याटिङ गरेर पनि हार व्यहोरेको हो । नेदरल्यान्डका लागि नोआ क्रोस सर्वाधिक अविजित ४६ रन बनाए । म्याक्स ओ डाउडले ४१  रनको योगदान दिएका थिए । नामिबियाका कप्तान एरास्मस र जान फ्रिलिंकले ३/३ विकेट, बर्नार्ड स्कोल्जले २, रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टि इटनले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नामिबिया ४१ ओभर ३ बलमा २०३ रनमा समेटिएको थियो । नामिबियाका ज्यान निकोल लोफटी  इटनले सर्वाधिक ४९ र मलान क्रुगरले ३९ रन बनाएका थिए । नेदरल्याण्ड्सका लागि भिभियन किङ्गमाले ३, आर्यन दत्त र रुल्फ भ्यान डर मर्वाले २/२, शारिज अहमद र बास डे लिडाले १/१ विकेट लिए ।

जितसँगै नामिबिया ४ खेलमा ६ अंक जोड्दै लिग-२ को शीर्ष स्थानमा छ । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा २-२ अंक छ । अब आइतबार नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस