त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त

सफल खबर संवाददाता

विहीबार, १० फागुन २०८०, १८ : ३४
त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. केशरजंग बराललाई नियुक्त गरेको छ। बरालले त्रिविको २० औँ उपकुलपतिका रुपमा जिम्मेवारी निर्वाह गर्नेछन्।त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । बराल पोखरा विश्वविद्यालययका पूर्व उपकुलपति थिए।बरालले दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बरालले काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन्। गत पुस २० गते सरकारले त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेकाे थियाे। उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए।

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षा मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको थियो। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ ले शिक्षामन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख चन्द्रकला घिमिरे रहेकोे कमिटी गठन गरेका थिए।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएपछि त्रिवि उपकुलपतिको पद रिक्त थियो। त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले उपकुलपतिमा नियुक्तिका लागि तीनजनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेको थियो।

समितिले तीनजनाले प्राप्त गरेको नम्बरसहित सिफारिस गरेको थियो।प्राप्तांकका आधारमा पहिलोमा चित्रबहादुर बुढाथोकी (७८ नम्बर), दोस्रोमा केशरजंग बराल (७६ नम्बर) र तेस्रोमा टंकनाथ धमला (७५ नम्बर) थिए।

कुलपति एवं प्रधानमन्त्री दाहालले योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाएका हुन्। पहिलो र दोस्रो नम्बरमा रहेका बुढाथोकी र बराल प्रधानमन्त्री दाहालले नेतृत्व गरेको दल माओवादी केन्द्रनिकट थिए। छनोट समितिले सिफारिस गरेकामध्ये कसलाई उपकुलपति बनाउने भन्ने विषयमा प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, वर्षमान पुन, छनोट समितिका संयोजक एवं शिक्षामन्त्री अशोक राई, माओवादी केन्द्रनिकट प्राध्यापकहरूबीच छलफल भएको थियो।

‘प्रधानमन्त्री दाहालले छनोट तथा सिफारिस समितिका संयोजक एवं सहकुलपति अशोक राईलाई नम्बरसहित सिफारिस गरेर संकटमा पारेको आरोप लगाएको स्रोत बताउँछ। छलफलमा सहभागी पौडेल र पुनले भने खुला प्रतिस्पर्धाबाट छनोट गरिएकाले योग्यताक्रम मिच्न नहुनेमा जोड दिएको स्रोतले बतायो।

मंगलबार माओवादीनिकट प्राध्यापक संगठनले प्रधानमन्त्रीलाई भेटेर बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो।माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएको थियो।