अपहरणको आरोप लागेपछि बोले गणेश लामा

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, २० : ११
अपहरणको आरोप लागेपछि बोले गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले ज्ञानेन्द्र खड्काले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । खड्काले आफूलाई लामा लगायतले अपहरण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको जानकारीसहितको विज्ञप्ति जारी गरेपछि लामाले पनि पत्रकार सम्मेलनमार्फत यस्तो दाबी गरेका हुन् । 

तर,  लामाले विवाद जग्गा कारोबारसँग सम्बन्धित रहेको बताए । ज्ञानेन्द्रले ‘यो जग्गा मलाई पास गरिदिनुुस्, ३ महिनापछि पैसा दिन्छु’ भनेपछि आफूले २०७१ असोज ३० गते ज्ञानेन्द्रकी श्रीमती नानीमैयाँ कार्कीको नाममा जग्गा पास गरिदिएको लामाले बताए । जग्गा पास गरेको ९÷१० वर्षसम्म पनि ज्ञानेन्द्र त्यसपछि सम्पर्कविहीन बनेर बसेको उनको भनाइ छ । डेढ÷दुई महिना अगाडि ज्ञानेन्द्रसँग जम्काभेट हुँदा उनैले जग्गाको पैसा दिन्छु भनेर छिनोफानो गरी कागज गरिएको नेता लामाको दाबी छ । उक्त जग्गा अहिले पनि ज्ञानेन्द्रकी श्रीमतीको नाममा रहेको उनले बताए । 

उक्त विषयमा अहिले छानविन भइरहेको बताउँदै नेता लामाले दोषी ठहरिए आफू कानूनबमोजिमको सजाय भोग्न तयार रहेको बताए । ज्ञानेन्द्र र आफूले विगतमा साझेदारी व्यवसायसमेत गरेको उनले खुलासा गरे । आफ्नी श्रीमती र ज्ञानेन्द्रकी श्रीमतीको नाममा दर्ता कायम रहेको ट्राभल कम्पनी अहिले पनि रहेको उनको दाबी छ । ०७१ सालमा आनाका २५ लाखका दरले धुलिखेल चोकको जग्गा आफूले पास गरिदिएको उनले बताए । पैसा नतिर्ने नियतले आफूमाथि अपहरणको आरोप लगाइएको हुनसक्ने उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस