बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, १९ : ४७
बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेका लागि आह्वान गर्ने भएको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १५ गते ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार उक्त दिनका लागि प्रदेशसभाको अधिवेशन प्रदेश प्रमुखले आह्वान गर्नेछन् । मन्त्रिपरिषद् निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले प्रदेशसभा अधिवेशन आह्वान गर्न पत्राचार गर्ने प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री बहादुरसिहं लामाले जानकारी दिए ।

उनका अनुसार फागुन १३ मा सर्वदलीय बैठक बोलाउने सरकारको योजना रहेको छ । १३ गते दिउँसो सर्वदलीय बैठक बसेर संसद्को कार्यसूची तथा सत्तापक्ष र विपक्ष बिचको विगतको विवाद समाधान गर्ने योजना रहेको उनले बताए । सर्वदलीय बैठक सरकारका तर्फबाट प्रदेशसभाका सभामुखले डाक्ने गरी  संसद् सचिवालयलाई पत्राचार गरिने उनले बताए ।

सो बैठकमा सरकार र प्रतिपक्ष दलहरुबिचको विवाद, बजेट पारित गर्दाको समयमा भएको सहमतिका विषयमा समझदारी बनाउने तयारी गरिएको मन्त्री लामाले बताए । संसद् सञ्चालन र बजेट माथिको सहमतिका विषयमा प्रतिपक्षसँग पनि समन्वय गर्ने काम भइरहेको उनको भनाई छ ।

गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा भइसक्दा पनि हिउँदे अधिवेशन आह्वान गर्ने सकिएको थिएन । सरकार र प्रतिपक्ष दलहरुबिचको द्वन्द्वका कारण संसद् अधिवेशन डाक्ने विषयमा समस्या हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस