केन्द्रीय समिति बैठकमा ओलीको लिखित दस्ताबेज नआउने

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, १२ : ५९
केन्द्रीय समिति बैठकमा ओलीको लिखित दस्ताबेज नआउने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठक तीन दिनसम्म चल्ने छ । यो पटकको बैठकमा अध्यक्ष ओलीले लिखित प्रतिवेदन भने पेश नगर्ने भएका छन् ।

केन्द्रीय समिति बैठकमा छलफल गर्न ६ वटा एजेन्डा तय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । केन्द्रीय समिति बैठक उद्घाटनका क्रममा अध्यक्ष ओलीले मौखिक सम्बोधन मात्रै गर्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

‘यो पटक पहिलाको बैठक भन्दा फरक हुँदैछ । अध्यक्षले लिखित प्रतिवेदन पेश नगर्ने भन्ने भएको छ’, नेता रिजालले भने, ‘एजेन्डामा आधारित प्रश्नमा केन्द्रीय सदस्यहरूको समूह विभाजन गरेर सुझाव संकलन गरिन्छ ।’

ओलीले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषणसहित समसामयिक विषयमा धारणा राखेपछि केन्द्रीय सदस्यहरूलाई बैठकका एजेन्डा जानकारी गराइने र एजेन्डामा समूहगत छलफल गरेर निष्कर्ष निकालेपछि दस्ताबेज बनाउने तयारी भएको रिजालको भनाइ छ ।

अध्यक्ष ओलीले सम्बोधनपछि महासचिव शंकर पोखरेलले सांगठानिक कामको समीक्षा र संगठन शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा पेश गर्नेछन् ।  जसमा जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानका उपाय र जनपरिचालन र जनदबाबका एजेन्डाका बारेमा समेत छलफल गर्ने एमालेको तयारी छ ।

एमाले बैठकको अर्को एजेन्डा समसामयिक प्रस्ताव पारित गर्ने रहेको छ । ति मध्ये जनदबाव तथा जनपरिचालन र पार्टीभित्रको शुद्धीकरण र सुदृढिकरणसम्बन्धी एजेन्डामा केन्द्रीय सदस्यहरूको मतका आधारमा आगामी कार्यक्रम तय गर्ने एमालेको तयारी छ । 

प्रतिक्रिया दिनुहोस