सैनामैना खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा रास्वपाका उम्मेदवार विजयी

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, १० : ४४
सैनामैना खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा रास्वपाका उम्मेदवार विजयी

बुटवल। रुपन्देहीस्थित सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।  सत्ता गठबन्धन तथा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै रास्वपाका एकबहादुर क्षेत्री विजयी भएका हुन् ।

दुई हजार ४०० मत खसेको चुनावमा क्षेत्री ७०५ मत पाएर विजयी भए । सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१, नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खाणले २८१ मत पाए ।

अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । कांग्रेस–माओवादी–एकीकृत समाजवादी–राष्ट्रिय जनमोर्चाको गठबन्धन भने शून्य भएको छ । अधिकांश पदमा रास्वपाका उम्मेदवारहरूले सत्ता गठबन्धनलाई पछि पार्दै दोस्रो स्थानमा मत ल्याएका छन् ।

उपाध्यक्षमा बाबुराम ज्ञवाली, सचिवमा सुशील भण्डारी, कोषाध्यक्षमा केशरमणि भण्डारी,  सहसचिवमा सजिना केसी, महिला सदस्यमा उमादेवी भण्डारी, मिना गिरी, कल्पना खनाल, सदस्यहरूमा दुर्गाबहादुर थापामगर, जयलाल विक, समुन्द्रभित्रकोटी निर्वाचित भएका निर्वाचन समिति सदस्य राजबहादुर क्षेत्रीले जानकारी दिए । 

 

यस्तै लेखा समिति संयोजकमा तमबहादुर विक तथा सदस्यहरूमा कोपिला शाही र कलाधर अर्याल निर्वाचित भएका छन् ।रास्वपा सैनामैनाका सभापति राजबहादुर क्षेत्रीले खानेपानीको चुनावले आफूलाई ठूला ठान्ने दलहरूको भ्रम अन्त्य गरिदिएको बताए ।

अध्यक्षमा निर्वाचित एकबहादुर क्षेत्रीले आफूहरूले खानेपानी धारा जडान शुल्क घटाउने, एकैपटक तिर्न नसक्नेलाई किस्तामा तिर्न पाउने व्यवस्था गर्ने, विपन्नलाई महशुल छुट गर्ने, संस्थामा आर्थिक सुशासन र पारदर्शिता कायम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस