१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, ०९ : १३
१४ हजार केजी कुहिने फोहोर टेकुमा कम्पोष्टिङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन गर्न थालिएको छ । ढुवानी र व्यवस्थापन पनि छुट्टा–छुट्टैरुपमा गर्ने गरिएको छ । घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी यस वडाबाट गरिएको हो ।

५ हजार जनसंख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहोरको मात्रा दैनिक औसत ५ सय किलोग्राम छ । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले भनिन्, ‘एक हप्तामा जम्मा भएको फोहोरको एक पाइल बनाउँछौँ । एउटा पाइलमा करिब ३५ सय किलो जैविक फोहोर हुन्छ । एक भाग जैविक फोहोरमा एक भाग टोकोजाइ नामक व्याक्टेरिया मिसाउनु पर्छ । यसले फोहोरलाई गन्धरहित बनाउँछ । लिचेड निस्कन दिँदैन ।’ 

वडा नं. २७ मा फोहोर वर्गीकरण गरेर माघ २१ गतेबाट टेकु ल्याउन थालिएको थियो । त्यसपछि संकलन भएको फोहोरलाई पाइल गरिएको हो । अहिलेसम्ममा ४ वटा पाइल तयार भइसकेका छन् । संकलित फोहोरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।