चितवनका किसानले सडकमै पोखे दूध, कृषि मन्त्रीको राजीनामा माग

सफल खबर संवाददाता

आइतबार, ०६ फागुन २०८०, १४ : ३४
चितवनका किसानले सडकमै पोखे दूध, कृषि मन्त्रीको राजीनामा माग

चितवन । चितवनका दूग्ध किसानहरुले कृषि मन्त्रीको राजीनामा माग्दै सडकमै दूध पोखेका छन् । दूध विक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्धको आन्दोलन स्वरुप आज सडकमै दूध पोखेर उनीहरुले बिरोध जनाएका हुन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा किसानहरु भेला भएर दुई क्यान दूध सडकमै पोखेर बिरोध गरेका हुन् । उनीहरुले कृषि मन्त्रीविरुद्ध चर्को नारा लगाएका छन् । तत्काल कृषि मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाईमा किसानहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । बिरोध स्वरुप सांकेतिक रुपमा सडकमै दूध पोखेर बिरोध जनाईएको संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए । उनले वर्तमान कृषि मन्त्री असक्षम सावित भइसकेको भन्दै किसानको समस्या समाधान गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

उनले दूध विक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्ध चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताए । चितवनमा हाल दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आइरहेको छ । त्यसमध्ये १ लाख ५१ हजार लिटर दूध काठमाडौँलगायतका जिल्लाहरुमा विक्री हुँदै आइरहेको संघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस