एक अर्कालाई असहयोग गरेकै कारण चलचित्र क्षेत्र अगाडि बढ्न सकेन : रेखा थापा

सफल खबर संवाददाता

बुधबार, ०२ फागुन २०८०, १२ : ३६
एक अर्कालाई असहयोग गरेकै कारण चलचित्र क्षेत्र अगाडि बढ्न सकेन : रेखा थापा

काठमाडौँ । यही फागुन २५ गते शिवरात्रिको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को निर्माण टिम यति बेला प्रमोसनमा व्यस्त छ ।  फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले उपहारलाई दर्शकहरूले औधी मन पराउने दाबी गरेकी छिन् । थापाले फिल्म ‘उपहार’ हरेक क्षेत्र, उमेर र वर्गका लागि उपहार बनेको बताइन् ।

उनले भनिन्,‘फिल्म फिल्म जस्तै हुनुपर्छ । हामीले एउटा राम्रो फिल्म बनाउने कोसिस गरेका छौँ । सबै कलाकारहरू एउटै ढिक्कामा बसेर गरेको कामलाई दर्शकले मन पराउनुहुन्छ भन्ने हामीलाई लागेको छ । फिल्म हरेक क्षेत्र, वर्ग र उमेरका लागि बनेको हो ।’फिल्मकी निर्मात्री समेत रहेकी नायिका थापाले फिल्म सुटिङको अनुभव सुनाउँदै सेटमा काम गर्दै गर्दा फिल्ममा आबद्ध अन्य कलाकारबाट अझ धेरै नै सिक्न पाएको बताइन् ।

उनले भनिन्,‘चलचित्रमा पनि एक कलाकार भएर काम गरेँ । अन्य कलाकारहरूबाट मैले धेरै कुराहरू सिक्ने अवसर पाएँ । कहिले पनि म प्रोड्युर हुँ भन्ने फिल भएन । आफैँ कहिलेकाहीँ सुटिङमा ढिला पुगिरहेको हुन्थेँ । पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुषालहरु जस्ता कलाकारहरूसँग काम गर्दा आफूलाई कलाकारकै रूपमा अनुभूत गरेँ ।’

वर्तमान नेपाली समयमा एकल महिलाले भोग्नुपरेको कथालाई स्पष्ट र सुन्दर तरिकाले देखाउनु नै फिल्मको सुन्दर पक्ष रहेको उनको भनाइ थियो । थापाले अहिले पनि नेपाली चलचित्र उद्योगमा कलाकार तथा निर्देशकले एक अर्कालाई असहयोग गरेकै कारणले अगाडि बढ्न नसकेको बताइन् ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतको अभिनय छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता रेखाका श्रीमान् बलराम शाही ठकुरी हुन् । 

फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, प्रमोद ढुङ्गाना, शङ्कर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दै छन् । 

प्रतिक्रिया दिनुहोस