बजेटका अधिकांश सूचक सकारात्मक : अर्थमन्त्री महत

सफल खबर संवाददाता

सोमबार, २९ माघ २०८०, १६ : २५
बजेटका अधिकांश सूचक सकारात्मक : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएको बताए ।

‘काम गर्ने कुरा, कुरा गरेको जस्तो हुन्न । आर्थिक सुधारको विषयमा तत्काल परिणाम निस्कन्न,’ महतले भने, ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ, सार यही हो । बजेट व्यवस्थापनमा चुनौती भने छन् ।’

बजेट पद्दतिलाई चुस्त बनाउन अझै केही समय लाग्ने उनले बताए । ‘सूचक सकारात्मक बन्दै गए पनि लक्ष्यअनुसार सूचक आएनन्, तथापि प्रगति छ,’ उनले भने । अर्थमन्त्री महतका अनुसार पर्यटन क्षेत्रमा सुधार भएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ, कर्जा प्रवाहमा चिन्ता थियो, तर आगामी दिनमा अझै बढ्छ भन्ने ‘कन्फिडेन्स’ बढाउनु छ ।

‘विप्रेषण बढी चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, वस्तु आयात घटेको छ, निर्यात घटेको छ,’ महतले भने, ‘निर्यात कम हुनुमा उत्पादनशील क्षेत्रले गति नलिँदा कम भएको हो । आयातमा गैरभन्सार चुहावटको आशंका गरिएको छ । सरकारको खर्चमा सबैको चिन्ता छ । समग्र खर्च ३२.५७ प्रतिशत छ ।

अर्थमन्त्री महतका अनुसार राजस्व संकलन ७७.४ प्रतिशत मात्र छ । राजस्व वृद्धिदर ९.६७ प्रतिशत छ । ‘यसबाट सन्तुष्ट छैनौं, बढाउँदै छौं,’ उनले भने, ‘इन्धनमा आयातित गाडी थिए । ईभी प्रमोसनमा जाँदा स्वाट्टै कर घटायौं, यसले महत्त्वपूर्ण भाग आयात राजस्व एकदमै कम भयो ।’

विदेशी सहयोगमा पहिलाभन्दा धेरै प्रतिबद्धता आएको उनको भनाइ छ । दातृ मुलुक र निकायले थप सहयोग गर्ने उत्सुकता देखाएको उनले बताए । ‘साइट क्लियरेन्स, वनका कुरालगायत समस्या छन्, तर पनि सहयोग बढ्दै जान्छ,’ अर्थमन्त्री महतले थपे, ‘विश्व बैंकको एउटा सम्मेलन आगामी जुन तेस्रो साता नेपालमा हुँदैछ, जसमा ९२ देशका प्रतिनिधिको सहभागिता हुन्छ । चाँडै हुन लागेको लगानी सम्मेलनमा विदेशी लगानीकर्ताको चासो बढेको छ ।’

प्रतिक्रिया दिनुहोस