७ महिनापछि काममा फर्किन् सामन्था

सफल खबर संवाददाता

सोमबार, २९ माघ २०८०, १२ : ०५
७ महिनापछि काममा फर्किन् सामन्था

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु सात महिनाको विश्रामपछि काममा फर्किएकी छन् । उनले आफ्नो पुनरागमनको घोषणा गर्दै एक भिडियो सेयर गरेकी छिन् । अब स्वास्थ्य पोडकास्टमा काम गर्ने उनले बताएकी छन् ।

३६ वर्षीया अभिनेत्रीले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै भनेकी छिन्, हो, अन्ततः म काममा फर्किएकी छु । धेरै दिनदेखि पूर्णरुपमा बेरोजगार थिएँ । अब म मेरो एक साथीसँग रमाइलो गर्न जाँदैछु । यो एक हेल्थ पडकास्ट हुनेछ । यो मलाई मनपर्ने काम पनि हो । अर्को हप्ता रिलिज हुने भएकाले म धेरै भावुक र उत्साहित छु । आशा छ कि तपाईंलाई पनि यसलाई उपयोगी ठान्नुहुनेछ । मलाई यसमा काम गर्न निकै रमाइलो लागेको छ ।’

सन् २०२२ मा अटो-इम्युन कन्डिसन (मायोसाइटिस)बाट पीडित भएकी सामन्थाले उपचारका लागि कामबाट विश्राम लिएकी थिइन् । सामन्थाको पछिल्लो रिलिज फिल्म ‘खुशी’ थियो, जसमा उनी विजय देवरकोंडाको अपोजिटमा देखिएकी थिइन् ।

सामन्था अभिनेता वरुण धवनसँग वेब-सिरिज ‘सिटाडेल’मा देखिनेछिन् । ब्रेक लिनुअघि सामन्थाले गत वर्ष जुलाईसम्म यो वेब-सिरिजको सुटिङ पनि गरिरहेकी थिइन् । यसबाहेक सामन्थाले ‘चेन्नई स्टोरीज’ पनि साइन गरेकी छिन्, जुन उनको पहिलो विदेशी फिल्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस