मेसीले हङकङमा नखेल्दाको असर चीनसम्म, अर्जेन्टिनाका दुवै खेल रद्द

सफल खबर संवाददाता

आइतबार, २८ माघ २०८०, १३ : ५४
मेसीले हङकङमा नखेल्दाको असर चीनसम्म, अर्जेन्टिनाका दुवै खेल रद्द

काठमाडौं। हङकङमा भएको एक मैत्रीपूर्ण फूटबल खेलमा अमेरिकी क्लब इन्टर मायमीका कप्तान लियोनल मेसीले नखेलेपछि त्यसको असर चीनसम्म पुगेको छ । मेसी नखेल्ने सम्भावनालाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले उनको कप्तानीमा रहेको अर्जेन्टिनाले चीनमा खेल्ने तय भएका दुई मैत्रीपूर्ण खेल रद्द गरेका छन् ।

 

विश्वविजेता अर्जेन्टिनाले मार्च २० र २४ मा चीनमा दुई अफ्रिकी टोली आइभरी कोस्ट र नाइजेरियासँग खेल्ने तय भएको थियो ।बेइजिङमा आइभरी कोस्टसँग र हाङझाउमा नाइजेरियासँग खेल्ने तालिका थियो ।

 

साविक विजेता अर्जेन्टिनाले जुनमा अमेरिकामा शुरू हुने कोपा अमेरिका फूटबल प्रतियोगिताको तयारीस्वरुप यी दुई खेल खेल्न लागेको थियो । चीनले दुई खेल रद्द गरेसँगै अब अर्जेन्टिनाले कोपा अमेरिका तयारी गर्न अरु टोली खोज्नुपर्ने भएको छ ।

यसअघि गत आइतवार हङकङ–११ विरुद्ध इन्टर मायमीले खेल्दा मेसीले चोटका कारण नखेलेको तथ्य बाहिरिएको थियो । मेसीले टोलीबाट नखेलेपछि समर्थकहरू आक्रोशित भएका छन् । किनकि, उनीहरूले मेसीकै खेल हेर्नका लागि भनेर महंगो मूल्यमा टिकट खरिद गरेका थिए ।

 

यद्यपि मेसी तीन दिनपछि जापानमा भएको भिसेल कोबेविरुद्ध खेलमा भने बेञ्चमा देखिएका थिए । 

प्रतिक्रिया दिनुहोस