प्रहरी समायोजनका लागि समिति बनाउँदै गृह मन्त्रालय

सफल खबर संवाददाता

शुक्रबार, २६ माघ २०८०, १३ : ४४
प्रहरी समायोजनका लागि समिति बनाउँदै गृह मन्त्रालय

काठमाडौं। गृह मन्त्रालयले प्रहरी समायोजनका लागि समिति बनाउने भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले आज अध्यागमन विभागको कार्यक्रममा प्रहरी समायोजनका लागि समिति बनाउन लागेको जानकारी दिएका हुन् ।  ‘प्रहरी समायोजनको घोषणा गर्ने र प्रहरी समायोजनको प्रकृया अगाडि बढाउने तयारीमा छौं’, गृहमन्त्री श्रेष्ठले भने ।

 

मन्त्री श्रेष्ठले नेपाल प्रहरी ऐनको विधेयक तयार भएको र अबको संसद्‍मा प्रस्तुत गर्न लागेको बताए । ‘प्रहरी समायोजन ऐनको विधेयक तयार भएको छ, मन्त्रिपरिषद्‌मा पठाएर यही संसद्‍मा हामीले पठाउँदै छौं', मन्त्री श्रेष्ठले भने । प्रहरी समायोजन ऐनमा शंसोधन र परिमार्जन गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

उनका अनुसार निर्वाचन विधेयकको काम अन्तिम चरणमा पुगेको छ भने सशस्त्र प्रहरी ऐनका लागि विधेयक तयारी भइरहेको छ ।

 

 

मन्त्री श्रेष्ठले राज्य लिएको सुशासनको नीतिका लागि देशमा भएको ठूला–ठूला काण्डहरूको अनुसन्धान गरेको बताए । उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डका अपराधीहरूलाई जेलसम्म पुर्‍याएको बताए ।

‘सरकारी जग्गा फिर्ता ल्याउन अहिले प्रकृया अगाडि बढेको छ । बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा हत्याउने व्यक्ति र उनीहरूका संस्थालाई अनुसन्धानको दायरामा ल्याउछौं', मन्त्री श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस