दुई सय ८५ किलो गाँजासहित तीन पक्राउ

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, १३ : ३०
दुई सय ८५ किलो गाँजासहित तीन पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट आज प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका-५ आइटी पार्कस्थित पनौती-बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

चौकीबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गर्दा पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बर को डिआई गाडीमा उक्त अप्रशोधित (हालै काटेको जस्तो देखिने हरियो) गाँजा ल्याइएको आवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको दक्षिणी (डाँडापारी) क्षेत्रबाट उक्त परिमाणको गाँजा ल्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रकाउ पर्नेमा गाडी चालक नुवाकोट विदुर नगरपालिका-११ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप-८ घर भई हाल काठमाडौं बालाजु बस्ने २० वर्षीय सञ्जीव तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् ।

उनीलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।