काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, ११ : २१
काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज - लैनचौर - जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र - बालुवाटार - नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर - थापाथली - माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल - बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरिएका हुन् ।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः ३४०, ३७४, १९०, ७६ र ९२ वटा बत्ती जडान गर्नु पर्ने देखिएको थियो । महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो । पौडेलले फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएको जानकारी दिए । यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् । यसका लागि १७७ वटा पोल प्रयोग भएका छन् ।

बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक सडक बत्ती जडान गरिएको हो ।