ठूलठूला आयोजना सम्पन्न गराउन ‘आयोजना बैंक’ निर्माण गरिने

सफल खबर संवाददाता

आइतबार, २४ भदौ २०७५, १७ : ४७
ठूलठूला आयोजना सम्पन्न गराउन ‘आयोजना बैंक’ निर्माण गरिने

काठमाडौँ । सरकारले ठूलठूला आयोजना सम्पन्न गराउन ‘आयोजना बैंक’ निर्माण गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले ठूलठूला आयोजना सम्पन्न गराउन ‘आयोजना बैंक’ निर्माण गर्ने भावी योजना तय गरेको हो । त्यसका लागि तथ्यपरक नीति तथा योजना तर्जुमा गर्ने कार्यलाई पहिलो प्राथमिकता राख्न लागिएको आयोगका सचिव लक्ष्मण अर्यालले जानकारी दिनु भयो ।

आईतबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा आयोगका सचिव अर्यालले मुलुकलाई समृद्ध बनाउन आवश्यक पर्ने भएकाले तथ्यपरक नीति तथा योजना तर्जुमाको कामलाई आयोगले पहिलो प्राथमिकतामा राख्नु परेको स्पष्ट पार्नु भयो । त्यसै गरी आयोगले बनाइएका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन र मूल्यांकनको कामलाई दोस्रो प्राथमिकतामा राखेको छ । योजना अनुसार कार्य सम्पादन गर्न पनि अनुगमन र मूल्यांकनको विषयलाई आयोगले जोड दिएको पनि सचिव अर्यालले बताउनु भयो । सचिव अर्यालले योजना कार्यान्वयनका लागि आवश्यक समन्वय गर्ने कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीति पनि तय गर्ने जानकारी दिनु भयो ।

बैठकमा समितिका सदस्यहरुले सूचना प्रविधिसम्बन्धी उद्योग स्थापना गर्न आवश्यक योजना बनाउन नसकेको भन्दै आयोगका पदाधिकारीहरुको आलोचना गरेका थिए । समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्बांैको रकम विदेशीने क्रम जारी रह“दा पनि सरकारले सूचना प्रविधि उद्योग स्थापनामा चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो । उहा“ले विदेशमा रहेका नेपाली जनशक्तिलाई उपयोग गरेर नेपालले सूचना प्रविधि उद्योगबाट ठूलो लाभ लिन सक्ने सम्भावना रहेकाले त्यसका लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्न आयोगसँग आग्रह गर्नु भयो ।
राष्ट्रिय योजना आयोगले संघीय ढाँचाअनुसार मुलुकको सबै तहको आर्थिक वृद्धिमा तीव्रता आउने गरी योजना बनाउन लागिएको दावी गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस