यू–१९ विश्वकप क्रिकेट : भारतलाई आज चुनौती दिँदै नेपाल

सफल खबर संवाददाता

शुक्रबार, १९ माघ २०८०, ०९ : ०४
यू–१९ विश्वकप क्रिकेट : भारतलाई आज चुनौती दिँदै नेपाल

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले २५.२ ओभरमै पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।

भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले यू–१९ विश्वकपको उपाधि जित्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ ।

‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेल खेल्नुअघि नै नेपाल उपाधि होडबाट बाहिरिएको थियो । ‘सुपर सिक्स’ चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले हराएका थिए ।

त्यो नतिजापछि नेपालसँगै न्युजिल्यान्ड र आयरल्यान्ड पनि उपाधि होडबाट बाहिरिएका थिए । साबिक विजेता भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड ‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा छन् ।

उक्त समूहबाट भारत, पाकिस्तान र बंगलादेशमध्ये दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । भारत ६ अंकसहित पहिलो, पाकिस्तान पनि ६ अंकसहित दोस्रो र बंगलादेश चार अंकसहित तेस्रो स्थानमा छन् ।

न्युजिल्यान्ड दुई अंकसहित चौथो स्थानमा छ । पाँचौँ स्थानमा आसिन नेपाल र छैटौँ स्थानमा आसिन आयरल्यान्डले खाता खोल्न सकेका छैनन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्ने प्रावधान छ ।

‘सुपर सिक्स’ चरणको समूह ‘दुई’ मा भने अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका, इङ्ल्यान्ड र जिम्बाबे रहेका छन् । ‘सुपर सिक्स’ चरणको खेलको समाप्तिपछि दुबै समूहबाट माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यू–१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । नेपालले सन् २००० मा श्रीलंकामा सम्पन्न तेस्रो संस्करणदेखि यू–१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो । यू–१९ विश्वकपको त्यही संस्करणमा नेपाल र भारतबिच पहिलो भिडन्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस