एकीकृत भन्सार जाँच चौकी निरीक्षणमा पुगे पूर्वमन्त्री पौडेल

सफल खबर संवाददाता

बुधबार, १७ माघ २०८०, १३ : ०९
एकीकृत भन्सार जाँच चौकी निरीक्षणमा पुगे पूर्वमन्त्री पौडेल

बुटवल। पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको बेलहिया नाकामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् ।

बुधवार निरीक्षण गदै पूर्व उपप्रधानमन्त्री पौडेलले यो आयोजना (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरूको चासो रहेको बताए । आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको उनले बताए ।

 

त्यसका लागि दुई देशबीचमा सहमति भएको तर जमिनको प्रबन्धका कारण अलि ढिलो भएको उनको भनाइ छ । ‘आईसीपी निर्माण प्रगतिबारे जानकारी लिइयो, केही समस्याहरू भयो भने सिडियो साबले कोर्डिनेशन गरिहाल्नुहुन्छ । खासगरी अलि निर्माण सामग्रीको समस्या देखियो', उनले भने ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताए । ‘छिटो काम शुरू गर्नका निम्ति हामीले पनि इनिशियसन लिएका थियौं', उनले भने ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहेका नेता पौडेलले आईसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताए। उनले आईसीपीको प्रयोग विभिन्न ठाउँमा हुन लागेको बताए । आईसीपी निर्माणले भन्सार प्रणाली, व्यवसाय र प्रशासनिक संयन्त्रलाई पनि सहज हुने पौडेलले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पूर्वमन्त्रीको उपस्थितिमा आईसीपीको संयुक्त अनुगमन गरिएको बताए ।

उनले परियोजना व्यवस्थापनले दिएको जानकारी अनुसार यो परियोजना निर्माण कार्य सन्तोषजनक अवस्था रहेको बताए । प्रजिअ अर्यालले भने, ‘मुलतः करिब ३० प्रतिशत हाराहारीमा भौतिक प्रगति रहेको प्रस्तुति रह्यो । त्यो भनेको आफैमा नराम्रो होइन । त्यसमा सबै सरोकारवालाहरूले परियोजनाले सहयोग गर्ने र निर्माण कार्यलाई द्रुत गतिले अगाडि बढाउने सहमति भएको छ ।'

शुरूमा निर्माण सामग्रीको उपलब्धता भएन भन्ने समस्या आफूहरूसँग आएको र स्थानीय पालिकाहरूसँग छलफल तथा संवाद गरिएको बताए ।

‘कतिपय सन्दर्भमा सहजीकरण गरेर निर्माण सामग्रीसँग सम्बन्धित समस्या समाधान गरेका छौं । मलाई लाग्छ अब यो परियोजनामा निर्माण सामग्रीसँग सम्बन्धित समस्या रहँदैन', उनले भने ।

नेपाल–भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आईसीपी निर्माणको सम्झौता भएको थियो।

प्रतिक्रिया दिनुहोस