आर्थिक तथा वित्तीय विषयमा संयुक्त अध्ययन गर्नेगरी बैंकर्स सङ्घ र केयूबिच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १४ : २५
आर्थिक तथा वित्तीय विषयमा संयुक्त अध्ययन गर्नेगरी बैंकर्स सङ्घ र केयूबिच सम्झौता

काठमाडौँ । नेपाल बैंकर्स सङ्घ र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन र तथ्याङ्कमा आधारित अनुसन्धानमार्फत नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्यसहित सङ्घ र केयूबिच सम्झौता भएको हो ।

 

साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध वित्तीय तथा शैक्षिक कार्यक्रमहरूको माध्यमबाट अगाडि बढ्ने लक्ष्यसमेत सो सम्झौतामा लिइएको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्न इन्टर्नसिप अवसरको लागि पनि बैंकसँग सहकार्य हुने सम्झौतामा उल्लेख गरिएको छ ।

 

यस सहकार्यले विश्वविद्यालय र सङ्घको ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको  छ । सम्झौता पत्रमा सङ्घका तर्फबाट अध्यक्ष श्री सुनिल केसी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा.विजय केसीले संयुक्त हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस