फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

रासस

मंगलबार, १६ माघ २०८०, १३ : ०३
फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता

बागलुङ । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् । बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको भएको हो । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य छ ।

कोरियाको वातावरण विभाग अन्तर्गतको ‘एएलके इसिओ’ कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जङ डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्झौतामा  हस्ताक्षर गरे । कोरियाली कम्पनीले ‘जिरो वेस्ट म्यानेजमेन्ट’का लागि प्रविधि उपलब्ध गराउने छ ।

साथै प्राविधिक सीपका लागि पनि तालिम दिने छ । उक्त कम्पनीले फोहर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले तीन वर्ष निःशुल्क सर्भिस दिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यावहारिक रुपमा ज्ञान दिनेछ । केही समय कोरियाका प्राविधिकले यहीँ आएर मेसिन चलाउने तालिमसमेत दिनेछन् ।

हाल बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहर फाल्दै आएको छ । कुश्मा नगरपालिकाले पनि बागलुङ पोखरा सडकको छमर्के नजिकै फोहर फाल्दा दुर्गन्ध फैलिएको छ ।

दुवै नगरका डम्पिङ साइट सडक छेवैमा छन् । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको थियो । अहिले बानपा–१ को खुर्तुर्के भन्ने स्थानमा फोहोर व्यवस्थापन गरिँदै आइएको छ ।

कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा डङ्गुर बनेको छ । अब भने नगरपालिकलो कुहिने र नकुहिने फोहर छुट्टै निकाल्ने व्यवस्थापन गर्ने भएको हो । 

उक्त मेसिनमा ढुङ्गा, सिसा र फलामजन्य वस्तुबाहेक सबै नष्ट पार्न सकिन्छ । साथै सो विधिबाट न्यूनतम बिद्युत्को खपतमै एक हजार एक सय डिग्री तापक्रमबाट फोहर नष्ट हुन्छ । त्यसबाट धुँवा र धुलोसमेत नहुने भएकाले कार्बन उत्र्सजन पनि नहुने बताइएको छ । 

बागलुङ नरपालिकाले दैनिक ६ टनसम्म फोहर निष्कासन गर्ने भएकोले प्लास्टिकजन्य वस्तु नै  दुई टनसम्म हुने अनुमान गरेर ठूलो मेसिन खरिद गर्ने भएको हो । कुश्मा नगरपालिकाले भने सानो मेसिनका लागि तयारी गरेको जोशीले बताए । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षका लागि फोहर व्यवस्थापनका लागि रु एक करोड २० लाख रकम विनियोजन गरेको छ ।  उक्त रकमबाटै यो व्यवस्थापन गर्ने लक्ष राखेको छ । 

चार महिनाभित्र कोरियाबाट प्राविधिधसहित मेसिन ल्याएर जडान गर्न सकिने कम्पनीका नेपाली प्रतिनिधि विष्णु ढुङ्गानाले बताए । यो प्रविधि सञ्चालन आएपछि प्लास्टिकजन्य फोहर पूरै हटाउन सकिनेछ । बर्सेनी डम्पिङ साइट व्यवस्थापनका लागि खर्च हुने रु एक करोड ५० लाखभन्दा बढी रकमबाट २५ देखि ३० प्रतिशतको खर्चमा व्यवस्थापन गर्न सकिने इञ्जिनियर दीपेन्द्र भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस