दुधको अनुदान रोकिएको भन्दै किसानले गरे निर्देशनालयमा तालाबन्दी

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, ११ : १७
दुधको अनुदान रोकिएको भन्दै किसानले गरे निर्देशनालयमा तालाबन्दी

मकवानपुर । प्रदेश सरकारले दिँदै आएको अनुदान कटौती गरिएको र ‘मिल्क होलिडे’ समस्या समाधानमा चासो नदेखाएको भन्दै बागमती प्रदेशका दुग्ध उत्पादक किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडामा सोमबार तालाबन्दी गरेका छन् ।

प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई अनुदानबापत यसअघि ३० करोड रुपैयाँ विनियोजन गरेकोमा घटाएर ५ करोड रुपैयाँ छुट्याएको छ । दुग्ध उत्पादक किसानलाई स्थानीय तहले नै अनुदान दिँदै आएको भन्दै दोहोरो अनुदान रोक्न प्रदेश सरकारले कार्यविधि बनाएर बजेटसमेत कटौती गरेपछि किसान आन्दोलित भएका हुन् ।

 

कतिपय स्थानीय तहले दुग्ध उत्पादक किसानका लागि अनुदानको व्यवस्था नगरेका कारण त्यस्ता किसान मारमा परेको भन्दै आन्दोलन थालिएको हो । उनीहरुले मिल्क होलिडे अन्त्यका लागि समेत प्रदेश सरकारले चासो नदिएको आरोप लगाउँदै आएका छन् ।

आन्दोलित किसानका अनुसार मकवानपुर र चितवनका विभिन्न पालिकाले किसानलाई दुग्ध उत्पादनबापत अनुदानको व्यवस्था गरेका छैनन् । प्रदेश सरकारले पनि अनुदान रोक्ने र स्थानीय तहले पनि अनुदानको व्यवस्था नगरेका कारण आफूहरु मर्कामा परेको आन्दोलित किसानको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस