भरतपुरको पुङ्गी खोला सौन्दर्यकरणको प्रमुख दाहालद्धारा शिलान्यास

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १४ : २१
भरतपुरको पुङ्गी खोला सौन्दर्यकरणको प्रमुख दाहालद्धारा शिलान्यास

भरतपुर। भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्र भएर बग्ने पुङ्गी खोला सौन्दर्यकरणको काम सुरु भएको छ । खोला सौन्दर्यकरण गर्ने आयोजनाको आज (आइतबार) भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले शिलान्यास गरिन् ।

आयोजनाको शिलान्यास गर्दै दाहालले निर्वाचनमा गरेको बाचा अनुरुप पुङ्गी खोला सौन्दर्यकरणको काम सुरु गरिएको बताईन् । उनले खोला सिमाङकन र सौन्दर्यकरणको काम संगसंगै अघि बढाइने जानकारी दिईन् । विभिन्न चरणमा गरी पुङ्गी खोला सौन्दर्यकरणको काम सम्पन्न गरिने भन्दै उनले सिमाङकन टुंगिएको ठाउँमा काम अघि बढाइएको बताईन् ।

भरतपुरको ११ नम्बर वडाबाट सुरु हुने पुङ्गी खोला २ र ३ नम्बर वडा हुँदै भरतपुर–३ र ४ को सिमानाबाट नारायणी नदीमा मिसिएको छ । यो खोलाको कुल लम्बाई करिब ६ किमी रहेको छ । पाँच किलोमिटर क्षेत्रमा सिमाङकन काम टुंगिएको भन्दै प्रमुख दाहालले गुरुयोजना अनुसार निर्माणको काम अघि बढेको बताईन् ।

कार्यपालिकाको निर्णय अनुसार सबै जनप्रतिनिधि र स्थानियको साथसहयोगले आजका दिनसम्म सफलतापूर्वक काम भएको र निर्माण सम्पन्न हुने प्रमुख दाहालले विश्वास व्यक्त गरिन् । पहिलो चरणमा ३५५ मिटरमा खोलाको दुवैतर्फ पर्खाल उठाएर विरुवा सहितको फुटपाथ बनाइने दाहालले बताईन् ।

खोला सौन्दर्यकरणको लागि तीन करोड ९७ लाख ७४ हजार रुपैयाँ अनुमान लागतको ठेक्का आह्वान भएको थियो । पहिलो चरणमा दुई करोड ४९ लाख ६९ हजार ५ सय १६ रुपैयाँमा खोला सौन्दर्यकरणको काम गर्न टिएसएन÷गिरवान जेभीले ठेक्का पाएको हो । आगामी २०८१ मंसिर २० गतेसम्ममा यो ठेक्काको काम सम्पन्न गर्नुपर्ने छ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र कुमार रानाले संघ र महानगरको बजेटमा खोला सौन्दर्यकरणको काम हुन लागेको बताए । उनले यो योजना सम्पन्न भएपछि महानगरपालिकाको सौन्दर्यमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । भरतपुर महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष विकाश थापाले खोला सिमाङकनको अभियानमा नागरिकले साथ र सहयोग गरेको भन्दै निर्माणको काममा पनि उत्तिकै सक्रियाता आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस