गोर्खा विग्रेडका कर्णेलसहितको टोलीले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १२ : ३५
गोर्खा विग्रेडका कर्णेलसहितको टोलीले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओवीईसहितको टोलीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताए । साथै ​यसमा एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपतिको सचिवालयका अनुसार उनले गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएको बताउँदै पूर्व ब्रिटिस गोर्खाका गुनासाहरू सम्बोधनका लागि कुटनीति तहमा भइरहेको छलफलमा संयुक्त अधिराज्य बेलायतले उदारता र सद्‌भावबाट चाँडै टुंगोमा पुर्‍याउने विश्वास व्यक्त गरे  ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने बताए ।​​वार्डलोले प्रतिवेदन पेश गर्दै गोरखाली सेनाको व्यावसायिकता, समर्पण र क्षमतालाई बेलायतले मात्र संसारले सम्मान र प्रशंसा गरेको उल्लेख गरे ।

प्रतिवेदनमा सन् २०२३ लाई फर्केर हेर्दा विग्रेड अफ गोर्खाजले विश्वलाई सुरक्षित स्थान बनाउन आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा अन्तराष्ट्रिय अनिश्चितताका बाबजुद पनि गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारिता कायम रहेको उल्लेख गरिएको छ ।सो अवसरमा बेलायती राजदूत रोब फेनको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस