राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०८२, १४ : ५७
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौँ । राष्ट्रिय सभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरे ।

बैठकमा राष्ट्रिय सभा सचिव डा सुरेन्द्र अर्यालले ‘सात वटै प्रदेश स्तरमा आयोजित निर्वाचन मण्डलसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ टेबल गरे। राष्ट्रिय सभाद्वारा २०८२ जेठ ११ र १२ गते सातै प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितको निर्वाचन मण्डलको बैठकमा समावेशी प्रतिनिधित्व, व्यवस्थापकीयरुपमा समन्वयात्मक, सहकार्य र सहअत्विका आधारमा छलफल भएको थियो ।

समन्वय बैठकले राष्ट्रिय सभालाई कानुन बनाउने मात्र नभई प्रदेश र स्थानीय तहको आवाजलाई सङ्घीय सरकारसम्म पुर्‍याउने यन्त्रको रूपमा हेरेको उनले जानकारी दिए । सचिव अर्यालले सातै प्रदेशका सुझावलाई लिएर प्रतिवेदन तयार गरिएको जानकारी दिए।

संघीयता कार्यान्वयन र सबलीकरणका लागि यो बैठकले महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा यसले आगामी दिनमा कानुन निर्माणमासमेत सहज हुने सचिव अर्यालले जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ ३ गते १ः१५ बजे बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस