दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, १९ : ४४
दादुरा–रुवेला विरुद्धको खोप फागुन दोस्रो सातादेखि

काठमाडौं । सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रुवेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका  अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाबाट अति संक्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सबै बालबालिकालाई उक्त खोप लगाइने छ । 

“बाँकी ५१ जिल्लाका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ,” प्रमुख डा गौतमले भने । जाजरकोट र रुकुम पश्चिममा भने यसअघि नै खोप अभियान सञ्चालन गरिएको थियो । फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने उनले बताए । 

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।

दादुरा–रुवेला सवभन्दा बढी संक्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्दछ । “दादुरा–रुवेला बढी संक्रामक हुन्छ,” खोप शाखा प्रमुख डा गौतमले भने, “त्यसैले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गर्न थालेका छौँ ।”

प्रतिक्रिया दिनुहोस