राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी, आजै परिणाम आउने

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, ११ : ०९
राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी, आजै परिणाम आउने

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत अहिले सातै प्रदेशमा मतदान जारी छ । बिहान ९ बजेदेखि सातै प्रदेशमा शुरू भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।  ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनमा सकिँदै छ । २० मध्ये एक सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित र १९ निर्वाचित हुन् । राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहने व्यवस्था छ ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, निर्वाचनका लागि कुल २ हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोशीमा कुल ३६७ मतदाता रहेका छन् । त्यस्तै, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५ मतदाता छन् । कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता छन् ।

आयोगका अनुसार सातै प्रदेशका विभिन्न समूहका लागि ५२ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवार रहेका छन् ।

कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच, मधेस प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट पाँच उम्मेदवार रहेका छन् ।

बाग्मती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ उम्मेदवार रहेका छन् ।

गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट आठ उम्मेदवार, लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट सात उम्मेदवारको रहेका छन् ।

कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट ६ उम्मेदवार, सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट ६ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

मतदान सकिएलगत्तै आजै मत गणना शुरू हुनेछ । आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस