नसाको तालमा बालकले गरे बालिकालाई बलात्कार

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १० : ५०
नसाको तालमा बालकले गरे बालिकालाई बलात्कार

बर्दिया । बर्दियामा एक १५ वर्षीय बालकले आफ्नै उमेरकी बालिकालाई बलात्कार गरेका छन् ।   गत १७ पुसमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बर्दियाको खोल्टीबजारमा भइरहेको थियो ।

मध्याह्नतिर खेल हेर्न ‘खोल्टीबजार क’ जाँदै थिइन् । उनी १५ वर्षीया बालिका हुन् । उनको पहिचान गोप्य राख्न प्रहरीले त्यसबेला राष्ट्रपति रनिङ शिल्ड भइरहेको खोल्टीबजार स्थानको नामबाट नाम राखिदिएको हो ।

उनी खोल्टीबजार नजिकैको पुलमा दिउँसो १ बजेतिर के पुग्न लागेकी थिइन्, ‘बिहानी बजार क’सँग भेट भयो । उनी पनि १५ वर्षीय बालक हुन् । आरोपी बालबालिका भए पहिचान गोप्य राख्नुपर्ने कानुनी प्रावधानअनुसार उनको पनि नाम प्रहरीले परिवर्तित राखेको हो ।

पीडित बालिकाका अनुसार पीडक बालकले भेट भएपछि भने, ‘एकछिन यता आऊ त ।’ बालिकाले अस्वीकार गर्दै भनिन्, ‘नाइँ आउँदिनँ ।’ त्यसपछि नजिकै आएर बालक अर्थात् ‘बिहानी बजार क’ले एक झापड हानेर धकेल्दै नजिकै रहेको आफन्तको घरभित्र लगेर ढोका बन्द गरे । जुन घरमा त्यसबेला मान्छे थिएनन् ।

पीडित ‘खोल्टीबजार क’ ले आफ्नी आमाको रोहबरमा लेखेको जाहेरीमा उल्लेख छ, ‘ढोका बन्द गरेपछि इच्छाविपरीत कोठाभित्रको खाटमा पल्टायो । कराउँदा घाँटी समातेर जे गर्छु चुप लागेर बस् भन्दै ५ मिनेट जति सेक्स गर्‍यो ।’ त्यसपछि आरोपी बालक ‘बिहानी बजार क’ ले कसैलाई घटनाबारे भनियो भने तेरो र मेरो बेइज्जत हुन्छ भन्दा आफू भने रुँदै बसेको र त्यहीबेला प्रहरी आएर आरोपीलाई पक्राउ गरेको जाहेरीमा उल्लेख छ ।

आरोपी बालकले भने प्रहरीसँगको बयानमा आफूले खोल्टीबजारमा रहेको एउटा होटलमा दुई गिलास जाँडको झोल (निगार) खाएको भनेका छन् । त्यसपछि नसा लागेको तालमा हिँड्दै खोल्टीबजार नजिकको पुल पुग्दा पीडित बालिकासँग भेट भएको बताएका छन् । बालिकालाई देखेपछि करणी गर्ने सोच आएको र यता आऊ भन्दा नमानेपछि धकेल्दै करिब १०० मिटर पर रहेको आफन्तको घर कोठामा लगेको उनको बयान छ । त्यहाँ करणीको प्रस्ताव राख्दा बालिकाले नमानेपछि बलात्कार गरेको बयान दिएका छन् । 

उनीविरुद्ध सरकारी वकिल कार्यालय बर्दियाका सहायक जिल्ला न्यायाधिवक्ता शिवराज पौडेलले सोमबार (हिजो) जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दामा अभियोगपत्र दायर गरेका छन् ।