कर्णाली प्रदेश : प्रहरी सक्रियतामा एक वर्षमा ६ करोडभन्दा बढी राजस्व संकलन

सफल खबर संवाददाता

सोमबार, ०८ माघ २०८०, ०८ : ४४
कर्णाली प्रदेश : प्रहरी सक्रियतामा एक वर्षमा ६ करोडभन्दा बढी राजस्व संकलन

सुर्खेत । कर्णालीमा प्रहरीको सक्रियतामा एक वर्षको अवधिमा ६ करोड ८ हजार २०५ रुपैयाँ राजस्व संकलन भएको छ । अवैध सामान ओसार–पसार, सवारी साधन कारबाही लगायतका शीर्षकमा उक्त राजस्व संकलन भएको हो ।

०७९ पुस मसान्तदेखि ०८० पुस मसान्तसम्म सबैभन्दा बढी सवारी साधन कारबाही शीर्षकमा राजस्व संकलन भएको छ । प्रदेश प्रहरीले दिएको विवरण अनुुसार एक वर्षको अवधिमा कर्णालीमा ५२ हजार ७९८ वटा सवारी साधन कारबाहीमा परेका छन् । ती सवारी साधनमाथिको कारबाहीबाट चार करोड ७ लाख १८ हजार तीन सय रुपैयाँ राजस्व संकलन भएको हो ।

यस्तै अवैध सामान बरामदबाट एक करोड ७४ लाख ५६ हजार १५९ रुपैयाँ राजस्व संकलन भएको छ । पछिल्लो समय नेपालगञ्ज हुँदै सुर्खेत आउने सवारी साधनमा राजस्व छलीका सामान ओसार–पसार हुने गरेका छन् । अवैध सामान ओसार–पसार गर्ने दुई वटा गाडी प्रहरी नियन्त्रणमै छन् भने तीन जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओली बताउँछन् ।

कर्णालीमा काठको अवैध ओसार–पसार हुने गरेको छ । एक वर्षको अवधिमा ८८५.८३ क्युफिट अवैध रुपमा ओसार–पसार भइरहेको काठ प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त कार्यमा संलग्न १९ जनालाई पक्राउ गरिएको थियो भने ओसारपसारमा संलग्न ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अवैध काठ बरामदबाट १३ लाख ९० हजार १४६ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

यस्तै, अवैध रुपमा निकालिएका नदीजन्य पदार्थ बरामदबाट प्रहरीले चार लाख ४३ हजार ६ रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त कार्यमा संलग्न ५४ वटा सवारी साधन र ४८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार अवैध हातहतियार तथा विस्फोटक पदार्थ अन्तर्गत ६८ वटा भरुवा बन्दुक, १ पेस्तोल, १० विस्फोटक पदार्थ बरामद गरिएको छ । उक्त कार्यमा संलग्न २६ जनालाई नियन्त्रणमा लिइएको थियो भने यस क्रममा चार जना घाइते र ५ जनाको मृत्यु भएको छ ।

यस्तै यो अवधिमा प्रदेशभरबाट प्रहरीले २९ रोपनी जमिनको गाँजा, ४७६ रोपनीमा लगाइएको अफिम नष्ट गरेको छ । यस्तै अवैध मदिरा नियन्त्रणमा पनि प्रहरीले व्यापक सक्रियता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस