सशस्त्र प्रहरीमा इन्स्पेक्टर बाट डीएसपीमा बढुवा हुन ‘पोस्ट ग्र्याजुएट डिप्लोमा’ अनिवार्य

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, २१ : ०७
सशस्त्र प्रहरीमा इन्स्पेक्टर बाट डीएसपीमा बढुवा हुन ‘पोस्ट ग्र्याजुएट डिप्लोमा’ अनिवार्य

काठमाडौं । सशस्त्र प्रहरी बलमा अब प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुन सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययनमा अधिस्नातक डिप्लो (पोस्ट ग्र्याजुएट डिप्लोमा)मा गर्नुपर्ने भएको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने, ‘इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन पोष्ट ग्र्याजुएट डिप्लोमा इन सेक्यूरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ ।’ यसअघि सशस्त्र प्रहरीमा डीएसपीमा बढुवाका लागि कम्पनी कमाण्ड एण्ड स्टाफ कोर्स (सीसीएसी) राखिएको थियो । यस पटकबाट भने कम्पनी कमाण्ड र विपद व्यवस्थापन दुबै कक्षा एकैपटक भइरहेको छ ।

सशस्त्र प्रहरी बलले अहिले आफ्नो नयाँ ऐन ल्याउन गृहकार्य गरिरहेको छ । त्यसपछि बन्ने नियमावलीमै यो विषय समावेश गर्ने सशस्त्र प्रहरीको तयारी छ ।हिजोआज सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आन्तरिक सुरक्षा व्यवस्थापन (सशस्त्र संघर्ष, आतंकवादी गतिविधि लगायतलाई निस्तेज पार्ने), राजश्व संकलन र विपद् व्यवस्थापनमा खटाइँदै आएको छ । ‘विपद् व्यवस्थापन पनि हाम्रो मुख्य जिम्मेवारीभित्र पर्ने भएकाले यो कोर्स राखेका हौं’, एसएसपी खड्काले भने ।अहिले सशस्त्र प्रहरी बलमा कर्मचारीको कार्यसम्पादन मूल्यांकनलाई वैज्ञानिक बनाउन प्रत्येक कर्मचारीको नियमित रुपमा गोप्य प्रतिवेदन फारम समेत भर्ने व्यवस्था गरिएको छ ।

‘कन्फिडेन्सियल रिपोर्ट फर्म (सीआरएफ) भर्ने व्यवस्था मिलाएर त्यसको आधारमा कार्यसम्पादन मूल्यांकन गर्ने कार्यको सुरुवात गरिएको छ’, उनले भने ।एसएसपी खड्काका अनुसार, सीमा सुरक्षामा उपस्थिति बढाउँदै लैजाने नीति अनुसार २५ वटा बोर्डर आउट पोस्ट (बीओपी) थप गरेर २५३ वटा पुर्‍याइएको छ ।‘सीमा सुरक्षामा युनिटहरुको चेन अफ कमाण्डलाई मजबुत बनाउन र थप प्रभावकारी परिचालनका लागि ४५ वटा बीओपीहरुमा डीएसपीले कमाण्ड गर्ने गरी प्रस्तावित सीमा सुरक्षा गुल्महरु स्थापना गरिएको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस