चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

सफल खबर संवाददाता

शनिबार, ०६ माघ २०८०, ०९ : ४७
चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

भरतपुर । चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले यहाँका स्थानीयको जीवनमा परिवर्तन ल्याउन थालेको छ ।

एम्बुलेन्स हर्न बजाउँदै गाउँ उक्लिएपछि गाउँलेले आफूसँग भएको उत्पादनलाई सडकसम्म ल्याउँछन् । गाउँलेको सामान लोड गरेपछि एम्बुलेन्स बजार झर्छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको कृषि एम्बुलेन्स हपनीका चेपाङ समुदायका लागि आयस्रोतको सजिलो माध्यम कृषि एम्बुलेन्स बनेको छ । 

कृषि एम्बुलेन्स चालक दीपककुमार प्रजाले बिहानै ४ बजे उठेर हपनी, माझखर्क ओल्र्याङबाट किसानको तरकारी फलफूल र अन्य सामाग्री गाडीमा लोड गरेर फिस्लिङ, मौवाखोला, शक्तिखोर, टाँडीलगायतका बजारसम्म लैजाने गरेका छन्। दिनभर किसानका सामान बेचेपछि उनी साँझ गाउँ फर्किन्छन् र किसानको आम्दानी बुझाउछन् । “सबै सामान आफैँ बिक्री गरिदिने गरेका छौँ”, उनले भने, “साँझ भाडा कटाएर बाँकी रहेको पैसा किसानलाई बुझाउने गरेको छु । यसले गाउँलेलाई सहज भएको छ ।” कृषि एम्बुलेन्स चलाउन थालेपछि गाउँमा परिवर्तन आएको दीपकले बताए । “गाउँका सबै सामान बजार लगेर बिक्री गर्न पाइएको छ, डोकोमा बोकेर घन्टौँ हिँड्नुपर्ने बाध्यता हटेको छ”, उनले भने । गाउँमा उत्पादन भएका तरकारी, फलफूल, डोको नाङ्लोलगायतका सबै उत्पादन बिक्रीका लागि बजार लैजाने गरेको उनले बताए । यहाँ उत्पादन हुने फलफूल र तरकारी प्रायः अर्गानिक हुने गरेको उनले बताए । 

“गाउँका खसी बोका पनि यही एम्बुलेन्समा राखेर बिक्रीका लागि लैजाने गरिएको छ । अघिल्लो महिना चार पाँच टिप खसीबोका बजार लगैँ”, चालक प्रजाले भने, “रु पाँच सय ५० केजीमा गाउँबाटै खसीबोका बिक्री हुने गरेको छ ।” उनले गाउँमा एम्बुलेन्स सञ्चालन भएपछि धेरै किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेको बताए । किसानको कामअनुसार आफू गाउँपालिकाका अन्य वडामा समेत कृषिजन्य सामग्री बोक्नका लागि जाने गरेको बताउँदै उनले प्रायः समय खाली बस्न नपरेको बताए । गाउँमा कृषि एम्बुलेन्स सञ्चालन भएको छ महिना भएको भन्दै उनले अहिले सबै घर कृषि उत्पादनमा जोडिएको बताए ।

प्रतिक्रिया दिनुहोस