सिंगापुरमा मन्त्री इस्वरणमाथि भ्रष्टाचार अभियोग

सफल खबर संवाददाता

विहीबार, ०४ माघ २०८०, १३ : ०२
सिंगापुरमा मन्त्री इस्वरणमाथि भ्रष्टाचार अभियोग

सिंगापुर । सिंगापुरले त्यहाँका एक मन्त्रीविरुद्ध भ्रष्टाचार अभियोग लगाएको छ । सिंगापुरमा यो दूर्लभ घटना हो । मन्त्रिमण्डलमा यातायात मन्त्रीको भूमिकामा  रहेका सुब्रमन्यिम इश्वरणमाथि २७ ओटा अभियोग चलाइएको छ ।

सिंगापुरमा फर्मूला वन ग्र्यान्ड प्रिक्स भर्खरै आउँदाताका उनी पयर्टनमन्त्री थिए । अभियोग लागेसँगै इश्वरणले पदबाट राजीनामा दिएका छन् । सन् २०२३ को जुलाईयता आफूले पाएको तलब र भत्ता सबै फिर्ता गर्ने पनि उनले बताएका छन् ।

सन् २०२३ को जुलाईमा पक्राउ परेयता इश्वरण मन्त्रीको जिम्मेवारीमा बिदामा थिए । तर हरेक महिना उनलाई तलबको रूपमा ८ हजार ५०० सिंगापुर डलर भुक्तानी भइरहेको थियो । सांसदको रूपमा उनले मासिक १५ हजार सिंगापुर डलरभन्दा धेरैको भत्ता लिइरहेका थिए । सिंगापुरका सांसदहरू विश्वमा सबैभन्दा धेरै तलब खानेमध्येमा पर्दछन् । मन्त्रीहरूको शुरुआती मासिक तलब नै ४५ हजार सिंगापुर डलरभन्दा धेरै हुन्छ । धेरै तलब खुवाएपछि सांसद र मन्त्रीहरूले भ्रष्टाचार गर्दैनन् भन्ने तर्क दिएर बढी तलब दिइएको हो ।

बिहीबार महान्यायाधिवक्ताकाे कार्यालयले जारी गरेको अभियोग पत्रका अनुसार इश्वरणमाथि कूल २७ ओटा अभियोग छ । पर्यटन मन्त्री भएको बेलामा घरजग्गा व्यापारी ओङ बेङ शेङलाई फाइदा पुग्ने निर्णय गरेर सोको सट्टामा ग्र्यान्ड फ्रिक्सको टिकट, होटल बसाई र हवाई यात्रासमेत गरेर १ लाख ६० हजार सिंगापुर डलर बराबरको उपहारमा लिएको पनि अभियोग छ । इश्वरण गएको वर्ष ओङसहित पक्राउ परेका थिए । सन् २००८ मा सिंगापुरमा एफवन रेस ल्याउन वङको मुख्य भूमिका थियो । इश्वरणमाथिको २७ ओटै अभियोगमा ओङको नाम पनि छ ।

इश्वरण सत्तारुढ पिपल्स एक्शन पार्टी (पीएपी)का वरिष्ठ नेता हुन् । आफ्नो करियरभर उनी कयौँ प्रमुख कम्पनीको निर्देशकका रूपमा रहेका  थिए । सरकारमा रहँदा पनि उनले प्रधानमन्त्रीको कार्यालयमा विभिन्न पोर्टफोलियोमा काम गरेका थिए । यसबाहेक पनि गृहमन्त्री र सञ्चार मन्त्री पनि रहे ।

हाल भने उनले यातायात मन्त्रीको रूपमा कार्यभार सम्हालिरहेका थिए । उनको लोकप्रियता व्यापार तथा उद्योग मन्त्रीको रूपमा बढी चुलिएको थियो । आफूमाथिको सबै अभियोग इश्वरणले अस्वीकार गरेका छन् । सिंगापुरमा यस अघि सन् १९८६ मा मन्त्रीमाथि भ्रष्टाचार अभियोग चलाइएको थियो । अभियोग पनि तत्कालीन राष्ट्रिय विकास मन्त्री तेह चियाङ्गले आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस