गैँडाकोटमा विश्वविद्यालय स्थापनाकालागि प्रधानमन्त्री ओलीसँग भेट

सफल खबर संवाददाता

विहीबार, २१ भदौ २०७५, १४ : १५
गैँडाकोटमा विश्वविद्यालय स्थापनाकालागि प्रधानमन्त्री ओलीसँग भेट

नवलपुर । गैँडाकोट नगरपालिका भित्र विश्व विद्यालय स्थापनाका लागि प्रधानमन्त्रीसँग प्रतिनिधि मण्डलले वार्तालाप गरेको छ । बुधबार काँग्रेस महामन्त्री तथा नवलपुरका सांसद डा. शंशाक कोइरालको नेतृत्वमा पुगेको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ । गैँडाकोट नगरपालिकामा उच्च अनुसन्धान तथा उद्यम विकासमा केन्द्रीत राष्ट्रिय विश्व विद्यालयको स्थापनाका लागि प्रधानमन्त्री ओली समक्ष अनुरोध पेस गरिएको थियो ।

प्रधानमन्त्री ओलीले साँच्चै गैँडाकोट तीव्रतर रुपमा यस अभियानमा जुटेको हो भने आफू सकरात्मक रहेको प्रतिक्रिया दिनुभएको टोलीले बताएको छ ।

टोलीमा सांसद तिलक महत, सत्यनारायण खनाल, प्रदेश सांसद कृष्णचन्द्र नेपाली, भूतपूर्व सांसद चन्द्रमणि खनाल, गैँडाकोट नगरप्रमुख छत्रराज पौडेल, विश्वविद्याय कार्यदलका अध्यक्ष डा. प्रमोद ढकाल, कार्यदलका सदस्यहरु गोविन्दराज कोइराला र करुणासागर सुवेदी, उद्योगपति चन्द्र ढकाल लगायतका प्रतिनिधि रहेका थिए ।
भेटघाट कार्यक्रममा परराष्टमन्त्री प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको कार्यदलका सदस्य करुणासागर सुवेदीले जानकारी दिनुभयो ।

सांसद डा. शंशाक कोइरालाले गैँडाकोट नगरपालिकाको नगरसभाले अघि सारेको गैँडाकोटको क्षेत्रलाई बौद्धिक अर्थतन्त्र तथा विश्वविद्यालय विकासको प्रयोजनका लागि अघि सारिएको योजनालाई अघि बढाउन प्रधानमन्त्री ओलीसँग अनुरोध गर्नुभएको थियो । साथै डा. कोइरालले अनुरोध पत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई गैँडाकोटमा विश्वविद्यालय स्थापनाका लागि प्रस्तावित क्षेत्रको अवलोकनका लागि आग्रह समेत गरेको छ ।  सत्यनारायण खनालले सर्वदलीय र सर्वपक्षिय प्रयत्न हुनु नै बलियो पक्ष भएको बताउनुभयो ।
कार्यदलका संयोजक डा. प्रमोद ढकालले प्रधानमन्त्री समक्ष प्राविधिक पक्षकाबारेमा जानकारी गराउनुभएको थियो ।

गैँडाकोट नगरप्रमुख छत्रराज कोइरालाले प्रधानमन्त्रीको सकरात्मक प्रतिक्रियामा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस