चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक, १० करोड राजस्व संकलन

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १४ : १२
चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक, १० करोड राजस्व संकलन

चितवन । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । जंगल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् ।

यो निकुञ्ज वन्यजन्तुको जनजीवन अवलोकनका निम्ति प्रसिद्ध छ । चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकले बढी रुचाउने क्षेत्र पनि हो । यो निकुञ्जमा गैँडा, पाटेबाघ, सोँस, गौरीगाई, काठेभालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावर पाइन्छ ।

यस्तै, घडियाल गोही, मगर गोही, अजिंगरलगायत सरीसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुंगी र विभिन्न किसिमका किराफट्यांग्रा यहाँ पाइन्छ ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले यहाँको अवलोकन भ्रमण गरेको बताए । पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट १० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको उनले उल्लेख गरे ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जापुनले गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमनमा वृद्धि हुने निकुञ्जको अपेक्षा छ ।

“चितवन राष्ट्रिय निकुञ्जको मंसिरसम्मको पर्यटन आगमनको तथ्यांक हेर्दा एक लाख बढी पर्यटक प्रवेश गर्नुभएको छ । त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरू हुनुहुन्छ । राजस्व आम्दानीको हिसाबले चितवन राष्ट्रिय निकुञ्जले १० करोडभन्दा बढी राजस्व संकलन भएको छ,” उनले भने ।

निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तु अवलोकन गर्न सक्ने अवस्था रहेको उनले बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा धुर्वे, रोनाल्डो, मकुना, यमगज, गोविन्देलगायत हात्तीहरू बाहिर देखिएको सुनाए । (न्युज एजेन्सी नेपाल )