राष्ट्रियसभामा सत्तागठन्धनका १९ उम्मेदवारलाई जिताउन ७ दलको अपिल

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, ११ : ४८
राष्ट्रियसभामा सत्तागठन्धनका १९ उम्मेदवारलाई जिताउन ७ दलको अपिल

काठमाडौँ । सत्ता गठबन्धन सम्बद्ध दलहरुले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बिलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो,’ अपिलमा भनिएको छ ।

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा नाउपा र जनमोर्चा गरी सात दलको साझा अपील छ । ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं ।

देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वशर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थीरता, दिगो शान्ति, शुसासन र समृद्धिका लागि प्रतिवद्ध छौ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौ,’ अपिलमा भनिएको छ ।

यस्तै गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको सात दलको भनाइ छ । ‘हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका देहाय बमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपील गर्दछौं,’ सात दलको अपिल छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् । 

प्रतिक्रिया दिनुहोस